बादल, हिमाल र संस्कृतिको संगम बनेको जेफाले डाँडा

डिसी नेपाल
३१ वैशाख २०८३ ९:५३

मोरङ । मोरङको उत्तरी भेगमा पर्ने केरावारी गाउँपालिका–२ स्थित जेफाले डाँडा पछिल्लो समय पूर्वी नेपालकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ ।

केही वर्षअघिसम्म दुर्गम र ओझेलमा रहेको यो स्थान अहिले प्राकृतिक सुन्दरता, मौसमको अनौठो स्वभाव, सांस्कृतिक विविधता तथा सामुदायिक होमस्टेका कारण आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

मोरङ र सुनसरीको सीमाक्षेत्र नजिक समुद्री सतहबाट करिब एक हजार ९ सय ७० मिटर उचाइमा रहेको जेफाले डाँडामा केही मिनेटमै घाम लाग्ने, त्यसपछि बाक्लो हुस्सु लाग्ने र फेरि मौसम खुल्ने दृश्य देख्न सकिन्छ । यही विशेषताका कारण स्थानीयले यस क्षेत्रलाई ‘हावेचौर’ भनेर पनि चिन्ने गरेका छन् ।

यहाँ निर्माण गरिएको ४२ फिट अग्लो चारतले भ्यू टावरले जेफालेको परिचयलाई अझ व्यापक बनाएको छ । भ्यू टावरमा चढेर पूर्वका १६ जिल्लाको दृश्य अवलोकन गर्न सकिन्छ भने मौसम खुलेको दिन विश्वको सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजंघा हिमालसमेत देख्न सकिने स्थानीयको दाबी छ ।

जेफाले पर्यटन विकास समितिका सदस्य भीम ठकुरीका अनुसार पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । ‘पहिला यो ठाउँको नामसमेत धेरैलाई थाहा थिएन,’ उनले भने, ‘अहिले सामाजिक सञ्जाल र भ्यू टावर निर्माणपछि दैनिकजसो पर्यटक आउन थालेका छन् ।’ साविक सिंहदेवी गाविस–५ मा पर्ने जेफाले हाल केरावारी गाउँपालिका–२ अन्तर्गत पर्छ । केरावारीको बिहीबारे बजारबाट करिब तीन सय मिटर उत्तरतर्फ लागेर झन्डै एक हजार सिँढी चढेपछि भ्यू टावर पुग्न सकिन्छ ।

कोशीहरैँचा नगरपालिकाको खोर्सानेबाट करिब ३४ किलोमिटर उत्तरमा रहेको यस क्षेत्रमा पुग्न दुई प्रमुख मार्ग छन ्। एउटा सुनसरीको भेडेटार–राजारानी हुँदै सम्बेवा चोकबाट पुग्ने बाटो हो भने अर्को मोरङको केरावारी हुँदै पुग्ने सडक हो ।
स्थानीयवासीका अनुसार सडक पहुँचलाई अझ व्यवस्थित बनाउन सके जेफालेको पर्यटन सम्भावना धेरै ठूलो छ । पत्रकार हरि कोईरालाका अनुसार प्राकृतिक सुन्दरता, धार्मिक महत्व र सांस्कृतिक विविधता एउटै स्थानमा पाइने भएकाले जेफालेलाई पूर्वी नेपालको प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने आधार बलियो छ । ‘सडक पूर्वाधार सहज बनाउन सकिए जेफाले भेडेटारजस्तै चर्चित गन्तव्य बन्न सक्छ,’ उनले भने ।

भ्यू टावरको दक्षिण–पश्चिम क्षेत्रमा रहेको पाथीभरा देवी मन्दिरले धार्मिक पर्यटकलाई समेत आकर्षित गरिरहेको छ । यसले यहाँ प्रकृति, धर्म र संस्कृतिको सुन्दर संगम सिर्जना गरेको स्थानीय बताउँछन् ।

पर्यटकलाई सहज खानपान र बसोबासको व्यवस्था गर्न सिंहदेवीको बिहीबारे क्षेत्रमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । हाल नौ घरमा होमस्टे सेवा उपलब्ध छ । भीम ठकुरी, युवराज खड्का, मायास्वरी शर्मा, ललितबहादुर लिम्बू, गंगाप्रसाद लिम्बू र खगेन्द्र जमर कट्टेललगायतका घरमा पर्यटक बस्न सक्ने व्यवस्था गरिएको छ । करिब ३० घरपरिवार रहेको बिहीबारेमा सञ्चालित सामुदायिक होमस्टेले स्थानीयलाई आम्दानीको नयाँ आधार दिएको छ । होमस्टेमा पाहुनालाई स्थानीय उत्पादनबाट तयार गरिएका परिकार खुवाइन्छ । लोकल कुखुराको मासु, ढिँडो र सिस्नुको तरकारी यहाँका विशेष परिकार हुन् । पाहुनाको चाहनाअनुसार अन्य खानेकुराको व्यवस्था पनि गरिने स्थानीय बताउँछन् ।

साँझपख मगर समुदायको हुर्रा नाच र लिम्बू समुदायको धान नाच प्रस्तुत गरिन्छ । यसले पर्यटकलाई स्थानीय संस्कृति नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ । ‘एक पटक आएका पाहुना फेरि फर्केर आउने वातावरण बनाउने हाम्रो प्रयास हो,” होमस्टे सञ्चालक भीम ठकुरीले भने, ‘अतिथिलाई आफ्नै परिवारजस्तो महसुस गराउने प्रयास गर्छौं ।’

उनका अनुसार एकैदिन करिब १०० जनासम्मलाई खान र बस्न व्यवस्थापन गर्न स्थानीय सक्षम छन् । कुनै समय सञ्चार, शिक्षा र सडक पहुँचबाट पछि परेको जेफाले क्षेत्र अहिले पर्यटनकै कारण आर्थिक रूपमा चलायमान बन्दै गएको स्थानीय बताउँछन् । घुम्न आउने पर्यटकले स्थानीय उत्पादन खरिद गर्ने, होमस्टेमा बस्ने तथा स्थानीय खाना खाने क्रम बढेपछि गाउँलेको आम्दानीमा सुधार आएको छ ।

विशेषगरी फागुनदेखि असारसम्म यहाँ पर्यटकको चाप बढी हुने गरेको छ । यही समयमा होमस्टेहरू प्रायः भरिभराउ हुने स्थानीय बताउँछन्। होमस्टे सञ्चालकका अनुसार पर्यटन सिजनका पाँच महिनामा एक होमस्टेबाट मासिक एक लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

‘पहिले आम्दानीका धेरै विकल्प थिएनन, ‘स्थानीय भन्छन्, ‘अहिले पर्यटनकै कारण गाउँमै बसेर कमाउने वातावरण बनेको छ ।’ हाल जेफाले क्षेत्रमा विभिन्न तालिम, गोष्ठी तथा सामुदायिक कार्यक्रमहरू समेत आयोजना हुन थालेका छन्। यसले स्थानीय व्यवसायलाई थप टेवा पुगेको छ ।

स्थानीयवासीका अनुसार सडक स्तरोन्नति, सञ्चार सुविधा विस्तार तथा सुरक्षाको भरपर्दो व्यवस्था गर्न सके जेफाले पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन धेरै समय लाग्ने छैन ।

बादलले छोपिने डाँडा, आँखैअगाडि फैलिएको हिमालको दृश्य, स्थानीय संस्कृतिको आत्मीयता र गाउँलेको आतिथ्यले जेफाले डाँडालाई पूर्वी नेपालको नयाँ आकर्षक गन्तव्यका रूपमा विस्तारै चिनाउँदै लगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *