कीर्तिपुर हत्या प्रकरण: फरार मुख्य अभियुक्त शाही प्रहरीको गोली प्रहारबाट पक्राउ

डिसी नेपाल
३१ वैशाख २०८३ १९:३९

काठमाडौं। कीर्तिपुरमा दिउँसै भएको विपिन घिमिरे हत्याका मुख्य अभियुक्त सुजन शाहीलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले खोजी गर्ने क्रममा उनलाई टोखा क्षेत्रमा फेला पारेको थियो।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि घुँडामुनि गोली प्रहार गरी उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। गोली लागेर घाइते भएका शाहीलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ।

यो घटना गत वैशाख २३ गते कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा भएको थियो। गुल्मीको धुर्कोट घर भई कीर्तिपुर बस्दै आएका २२ वर्षीय विपिन घिमिरेमाथि ६ जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो।

घाइते घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार हत्या गर्ने र मारिने व्यक्तिहरू आपसमा साथीहरू थिए। उनीहरूबीचको आपसी विवाद उग्र बन्दा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त कीर्तिपुरको टोलीले यसअघि नै तीन जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा अछामका महेन्द्र शाह तथा कैलालीका रवीन्द्र धामी र रोशन बिष्ट रहेका छन्। उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।

हत्याका मुख्य योजनाकार भनिएका सुजन शाही भने घटनापछि फरार रहँदै आएका थिए। घटनास्थलको सीसीक्यामेरा फुटेजमा देखिएका व्यक्तिहरूमध्ये कोही केही समयअघि मात्रै हिरासतबाट छुटेका आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू समेत रहेको प्रहरीले जानकारी दिएको छ। मुख्य अभियुक्त पक्राउ परेसँगै घटनाको थप रहस्य खुल्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *