प्रतिनिधिसभा विघटनसम्बन्धी २० वटा रिटको सुनुवाइ स्थगित

डिसी नेपाल
६ जेठ २०८३ १४:००

काठमाडौं। सर्वोच्च अदालतमा बुधबारका लागि तय भएको प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटहरूको सुनुवाइ स्थगित भएको छ।

चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मा नयाँ प्रधानन्यायाधीशमा नियुक्त भएसँगै प्रत्येक बुधबार बस्दै आएको संवैधानिक इजलास गठन हुन नसक्दा सुनुवाइ प्रभावित भएको हो।

वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहँदासम्म सर्वोच्चमा प्रत्येक सोमबार र बुधबार नियमित रूपमा संवैधानिक इजलास बस्ने गरेको थालनी थियो।

तर, नयाँ प्रधानन्यायाधीशको आगमन र वरिष्ठतम न्यायाधीश मल्लको असन्तुष्टिपूर्ण २० दिने लामो बिदाका कारण आजको इजलास बस्न सकेन। इजलास नबसेकै कारण आजका लागि पेसी तोकिएका प्रतिनिधिसभा विघटनविरुद्धका २० वटा महत्त्वपूर्ण रिटहरूलाई स्थगितको सूचीमा राखिएको छ।

सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार बुधबार संवैधानिक इजलास गठन हुन नसकेकाले पेसी स्थगित गर्नुपरेको  हाे।

यसरी देशको उच्च राजनीतिक र संवैधानिक महत्त्व बोकेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ रोकिए पनि अर्को पेसी कहिलेका लागि तोकिनेछ भन्नेबारे सर्वोच्च अदालतले अझै स्पष्ट पारेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *