हुम्लाको नेप्कामा पहिरोको वितण्डा: विद्यालय र गोठ पुरिए, खेतीयोग्य जमिन बगाउँदा लाखौँको क्षति

डिसी नेपाल
६ जेठ २०८३ १४:१३

मुगु। हुम्ला जिल्लाको चङ्खेली गाउँपालिका-५ स्थित दुर्गम नेप्का गाउँमा बुधबार बिहान भीषण पहिरो जाँदा विद्यालय, गोठ, भेडाबाख्रा तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको छ। स्थानीय बासिन्दाका अनुसार अत्यधिक असिना-पानी परेपछि अचानक खसेको पहिरोले गाउँलाई सोहोरेको हो।

पहिरोले स्थानीय डाँफे आधारभूत विद्यालयको भवन पूर्ण रूपमा बगाएको छ। यसका साथै पाक्न लागेको गहुँ, जौ, उवा लगायतका नगदे बाली नष्ट गर्दै स्थानीयको उर्वर भूमिलाई बगरमा परिणत गरिदिएको छ।

चङ्खेली-५ का वडा अध्यक्ष हर्कधन तामाङका अनुसार पहिरो र बाढीले स्थानीयका गोठहरू पुरेको छ भने गोठभित्र रहेका भेडाबाख्रा समेत पुरिएका छन्। सुखद कुरा, हालसम्म कुनै मानवीय क्षतिको खबर भने प्राप्त भएको छैन।

वडा अध्यक्ष तामाङले घटना लगत्तै गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको र क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताए। स्थानीय छक्कबहादुर तामाङका अनुसार पहिरोले वडा अध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङको गोठ पुरेको छ, तर कति सङ्ख्यामा चौपाया मरे भन्ने यकिन हुन बाँकी छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले घटनाको सूचना पाउनासाथ मेल्छाम प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिनुभयो। नेप्का गाउँ अत्यन्तै दुर्गम र सडक सञ्जालसँग नजोडिएका कारण उद्धार तथा राहत कार्यमा चुनौती थपिएको उनको भनाइ छ।

यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर खड्काले नेप्कादेखि गाउँपालिकाको केन्द्रसम्म पुग्न जोखिमपूर्ण बाटोमा करिब पाँच घण्टा पैदल हिँड्नुपर्ने भौगोलिक विकटताका कारण सुरक्षाकर्मीलाई घटनास्थल पुग्न समय लागेको स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *