नेपाली चिया आयातमा भारतको आंशिक सहजीकरण
काठमाडौं । भारत सरकारले नेपालसहित विभिन्न मुलुकबाट आयात हुने चियाको परीक्षण सम्बन्धी व्यवस्थामा आंशिक सहजीकरण गरेको छ। भारतीय टी बोर्डले मे १९, २०२६ मा जारी गरेको नयाँ ‘कोरिजेन्डम-२’ (संसोधित निर्देशन) अनुसार अब पुनः निर्यात (रि-एक्सपोर्ट) का लागि आयात गरिने चियाको मात्रै अनिवार्य परीक्षण गरिने भएको हो।
यसअघि टी बोर्ड इन्डियाले मे १ देखि भारत भित्रिने सबै प्रकारका आयातित चियाको अनिवार्य गुणस्तर परीक्षण गर्ने कडा व्यवस्था लागू गरेको थियो। उक्त व्यवस्थाका कारण नेपाली चिया निर्यात ठप्प हुन सक्ने भन्दै स्वदेशी चिया व्यवसायीहरूले ठूलो चिन्ता र अन्योल व्यक्त गर्दै आएका थिए।
संशोधित नयाँ नियमअनुसार भारतभित्रकै आन्तरिक बजारमा बिक्री-वितरण गर्नका लागि आयात गरिने चियाको अनिवार्य परीक्षण तत्कालका लागि टी बोर्डले गर्ने छैन। यद्यपि, त्यस्तो चियाको नमुना परीक्षण भने भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (FSSAI) र भन्सार विभागले आफ्नो नियमित जोखिम व्यवस्थापन प्रणाली (RMS) अन्तर्गत गर्ने जनाइएको छ।
टी बोर्डद्वारा जारी सूचनामा भारतमा ल्याएर पुनः अर्को देशमा निर्यात गरिने चियाको गुणस्तर परीक्षण भने साविक बमोजिम नै यथावत् रहने स्पष्ट पारिएको छ।
साथै, सम्बन्धित प्रयोगशालाहरूले नमुना प्राप्त भएको पाँच दिनभित्र अनिवार्य रूपमा परीक्षण प्रतिवेदन अनलाइन प्रणालीमा अपलोड गरिसक्नुपर्ने समयसीमा समेत निर्धारण गरिएको छ। भारतीय निकायको यो पछिल्लो निर्णयसँगै नेपाली चियाको निर्यातमा देखा परेको प्राविधिक अवरोध र अन्योल केही हदसम्म हट्ने अपेक्षा व्यवसायीहरूले गरेका छन्।







डिसी नेपाल







Facebook Comment