कञ्चनपुरको बेलौरीमा मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

डिसी नेपाल
७ जेठ २०८३ १०:५४

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत भौतिक संरचनाहरू हटाउने भएको छ।

नगरपालिकाले वडा नं. ६, रिच्छाहास्थित भुइँया मन्दिरको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गामा प्रचलित कानुन विपरीत व्यक्तिगत प्रयोजनका लागि बनाइएका संरचनाहरू हटाउन ७ दिने सार्वजनिक सूचना जारी गरेको हो।

रिच्छाहा (साविक श्रीपुर गाविस-३) स्थित कित्ता नं. २४१ को मन्दिरको जग्गा स्थानीय केही व्यक्तिहरूले जबरजस्ती भोगचलन गर्दै भौतिक संरचना निर्माण गरिरहेको उजुरी परेपछि नगरपालिकाले कानुनी प्रक्रिया अघि बढाएको थियो।

यसअघि सो विवादका सम्बन्धमा नगरपालिकाको न्यायिक समितिले स्थलगत अनुगमन, प्राविधिक नापजाँच र रेखांकन गर्दा मन्दिरको जग्गा अतिक्रमण भएको पुष्टि गरेको थियो। सोही जाँचबुझका आधारमा नगर कार्यपालिकाको बैठकले अतिक्रमित जग्गा खाली गराउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीका अनुसार अतिक्रमणकारी पक्षसँग पटक–पटक मौखिक भेटवार्ता र परामर्श गर्दा समेत संरचना हटाउन आलटाल गरिएको थियो।

उल्टै, मन्दिर व्यवस्थापन समितिले घेराबार गर्न लागेको काममा समेत बाधा व्यवधान खडा गरी क्षति पुर्‍याएपछि नगरपालिकाले यो कडा कदम चाल्नुपरेको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) बमोजिम सार्वजनिक र धार्मिक क्षेत्रको जग्गा संरक्षण गर्ने स्पष्ट अधिकार स्थानीय तहलाई रहेको स्मरण गराउँदै नगरपालिकाले सूचना प्रकाशित भएको ७ दिनभित्र निर्माणाधीन संरचनाहरू आफ्नै खर्चमा हटाउन निर्देशन दिएको छ।

तोकिएको म्यादभित्र संरचना नहटाइएमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र स्थानीय सुरक्षा निकायको सहयोगमा नगरपालिका आफैँले ती संरचनाहरू भत्काउने चेतावनी दिएको छ।

त्यसरी बलप्रयोग गरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च र भएको क्षति समेत सम्बन्धित व्यक्तिबाटै सरकारी बाँकी सरह असुलउपर गरिने ब्यहोरा नगरपालिकाले स्पष्ट पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *