गुजरातको धमाकेदार जित: चेन्नई ८९ रनले पराजित हुँदै आईपीएलबाट बाहिरियो

डिसी नेपाल
८ जेठ २०८३ ६:३६

काठमाडाैं। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा बिहीबार राति सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को रोमान्चक भिडन्तमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्समाथि ८९ रनको फराकिलो जित दर्ता गरेको छ।

गुजरातले प्रस्तुत गरेको २ सय ३० रनको विशाल लक्ष्य पछ्याउने क्रममा चेन्नईको ब्याटिङ ध्वस्त भएपछि टोली १३.४ ओभरमा मात्र १ सय ४० रनमा समेटिन पुग्यो। यो हारसँगै चेन्नई १२ अंकमा रोकिँदै यस सिजनको आईपीएल उपाधि होडबाट बाहिरिएको छ भने गुजरातले महत्वपूर्ण १८ अंक जोड्न सफल भएको छ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २९ रनको विशाल योगफल खडा गरेको थियो। गुजरातलाई बलियो स्थितिमा पुर्‍याउन प्रारम्भिक ब्याटरद्वय साई सुदर्शन र कप्तान शुभमन गिलले उत्कृष्ट प्रदर्शन गरे।

उनीहरूले पहिलो विकेटका लागि १ सय २५ रनको विस्फोटक साझेदारी गर्दै टोलीलाई सानदार सुरुवात दिलाएका थिए। सुदर्शनले ५३ बलमा ८४ रन र गिलले ३७ बलमा ६४ रनको योगदान दिए। त्यस्तै, मध्यक्रममा आएका जस बटलरले २७ बलमा अविजित ५७ रनको आक्रामक इनिङ्स खेलेपछि गुजरातले विशाल स्कोर खडा गरेको हो। चेन्नईका मुकेश चौधरी, स्पेन्सर जोन्सन र अंशुल कम्बोजले १–१ विकेट हात पारे।

२ सय ३० रनको ठूलो लक्ष्य पछ्याएको चेन्नईका ब्याटरहरू गुजरातका घातक बलरसामु क्रिजमा टिक्न सकेनन्। चेन्नईका लागि शिवम दुबेले १७ बलमा सर्वाधिक ४७ रन र म्याट शर्टले २४ रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन। कप्तान रुतुराज गायकवाड १६ रनमा आउट हुँदा अर्का भरपर्दा ब्याटर सञ्जु सामसन खाता नै नखोली पभिलियन फर्किएपछि चेन्नई सुरुदेखि नै दबाबमा परेको थियो।

चेन्नईको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने क्रममा गुजरातका मोहम्मद सिराज, रासिद खान र कागिसो रबाडाले उत्कृष्ट बलिङ गरे।

सिराजले ३ ओभरमा २६ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए र उनी खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए। त्यस्तै, रासिद खानले किफायती बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट तथा कागिसो रबाडाले ३२ रन खर्चेर ३ विकेट लिएपछि गुजरातले खेल सहजै आफ्नो पोल्टामा पार्‍याे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *