तातो कफीले पोलिएकी यात्रुलाई कतार एयरवेजले साढे २ करोड बढी क्षतिपूर्ति तिर्नुपर्ने

डिसी नेपाल
८ जेठ २०८३ १०:०५

काठमाडौँ । अन्तर्राष्ट्रिय उडानका क्रममा विमानका कर्मचारी (क्याबिन क्रू) को असावधानीका कारण तातो कफी पोखिएर गम्भीर घाइते भएकी एक नेपाली महिला यात्रुलाई कतार एयरवेजले २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।

काठमाडौँस्थित उपभोक्ता अदालतका अध्यक्ष एवं न्यायाधीश दिवाकर भट्ट सहित सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार (जेठ ७ गते) कतार एयरवेजलाई पीडित यात्रु प्रिती थापाको उपचार खर्च तथा मानसिक आघातबापत उक्त ऐतिहासिक क्षतिपूर्ति रकम भराउन आदेश दिएको हो।

नेपालमा उपभोक्ता अदालत गठन भएयता कुनै पनि अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनीविरुद्ध भएको यो सम्भवतः सबैभन्दा ठूलो परिमाणको क्षतिपूर्ति फैसला हो। यो घटना सन् २०२३ जुलाई १० तारिखको हो। ललितपुर महानगरपालिका वडा नं. २, झम्सिखेलकी प्रिती थापा कतार एयरवेजको विमान (फ्लाइट नम्बर क्युआर ७४४) मार्फत अमेरिकाको बोस्टनबाट दोहा हुँदै काठमाडौँ फर्किँदै थिइन्।

उडानका क्रममा विमानको ३५-ए नम्बर सिटमा बसिरहेकी थापालाई चालक दलका सदस्यले अत्यधिक तातो कफी सर्भ गरेका थिए। कफी दिने क्रममा क्याबिन क्रूको चरम लापरवाही र असावधानीका कारण उक्त उम्लिरहेको कफी अचानक थापाको पेट, तिघ्रा र शरीरका अन्य संवेदनशील अङ्गहरूमा पोखिन पुगेको थियो।

विमानभित्रै असह्य पीडा भएपछि चालक दललाई जानकारी गराइएको थियो र विमान कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनासाथ उनलाई आकस्मिक स्वास्थ्य सेवा केन्द्रमा पुर्‍याएर प्राथमिक उपचार गरिएको थियो।

चिकित्सकहरूले सोही समयमा थापालाई ‘सेकेन्ड डिग्री बर्न’ (दोस्रो तहको जलन) भएको पहिचान गरेका थिए। कतारमा प्राथमिक उपचार गराएर नेपाल फर्किएपछि थापाले कीर्तिपुर अस्पतालको विशिष्टीकृत जलन वार्डमा लामो समयसम्म पुनः उपचार र पुनर्स्थापनाका प्रक्रियाहरू गराउनुपरेको थियो।

शारीरिक र मानसिक रूपमा गम्भीर घाइते भएपछि उनले आफ्नो उपचार खर्च, आम्दानीको क्षति र मानसिक आघातको क्षतिपूर्ति दाबी गर्दै सुरुमा कतार एयरवेजको व्यवस्थापनसँग आग्रह गरेकी थिइन्। तर, बहुराष्ट्रिय हवाई कम्पनी कतार एयरवेजले थापा आफैँले कफी समात्ने क्रममा खसालेको दाबी गर्दै कुनै पनि क्षतिपूर्ति दिन अस्वीकार गरेपछि उनी कानूनी उपचारका लागि उपभोक्ता अदालत पुगेकी थिइन्।

थापाले आफूलाई परेको शारीरिक, मानसिक तथा आर्थिक क्षतिको विवरण पेस गर्दै कुल २० लाख अमेरिकी डलर (तत्कालीन विनिमय दरअनुसार २७ करोड ४१ लाख ७७ हजार रुपैयाँभन्दा बढी) क्षतिपूर्तिको माग दाबीसहित उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन्।

अदालतमा सुनुवाइका क्रममा कतार एयरवेजका कानूनी प्रतिनिधिहरूले कम्पनीको तर्फबाट आफ्नो गल्ती नरहेको जिकिर गरिरहे। तर, अदालतले सेवा प्रदायक कम्पनीले उडानका क्रममा यात्रुको सुरक्षा, संवेदनशीलता र गुणस्तरीय सेवामा गम्भीर लापरवाही गरेको ठहर गर्‍यो। साँघुरो सिट र उडिरहेको विमानभित्र उम्लिरहेको तरल पदार्थ सर्भ गर्दा अपनाउनुपर्ने न्यूनतम सुरक्षा मापदण्ड एयरवेजले पालना नगरेको अदालतको निष्कर्ष थियो।

उपभोक्ता अदालतले अन्तर्राष्ट्रिय हवाई यातायातसम्बन्धी ‘मोन्ट्रियल महासन्धि, १९९९’ र नेपालको ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ लाई संयुक्त रूपमा आधार मानी यो फैसला सुनाएको हो।

अदालतको आदेशअनुसार कतार एयरवेजले मोन्ट्रियल महासन्धिका प्रावधान र दायित्व बमोजिम वादी प्रिती थापालाई २ करोड ४१ लाख ९२ हजार ४०६ रुपैयाँ र नेपालको उपभोक्ता ऐन अन्तर्गत मानसिक सास्ती र सेवाको कमीबापत थप २० लाख रुपैयाँ गरी कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति भुक्तानी गर्नुपर्नेछ।

अन्तर्राष्ट्रिय उडानका क्रममा हुने यस्ता भवितव्य वा दुर्घटनामा एयरलाइन्सको ‘पूर्ण र कडा दायित्व’ (स्ट्रिक्ट लायबिलिटी) रहने अन्तर्राष्ट्रिय कानूनको सिद्धान्तलाई नेपालको अदालतले यस फैसलामार्फत दृढतापूर्वक स्थापित गरिदिएको छ।

यो फैसलाले नेपालको उपभोक्ता अधिकार र हवाई यात्रु सुरक्षाको क्षेत्रमा एउटा ठुलो नजिर स्थापित गरेको कानुनी क्षेत्रका जानकारहरू बताउँछन्। यसअघि ठूला बहुराष्ट्रिय कम्पनीहरूले स्थानीय उपभोक्ता अदालतको क्षेत्राधिकार र अन्तर्राष्ट्रिय महासन्धिका दायित्वहरूलाई बेवास्ता गर्दै आएको अवस्थामा यो निर्णयले यात्रुको अधिकार सुरक्षित गरेको छ।

यद्यपि, उपभोक्ता अदालतको यो फैसलाविरुद्ध कतार एयरवेजलाई नेपालको उच्च अदालत (पाटन उच्च अदालत) मा पुनरावेदन (अपिल) गर्ने कानुनी बाटो भने अझै खुला रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *