अधिवक्ता सुधिज्ञ पन्तद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण
काठमाडौं। साहस, दृढ संकल्प र अथक परिश्रमको संगम प्रस्तुत गर्दै नेपाली कानुन व्यवसायी एवं अधिवक्ता सुधिज्ञ पन्तले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
नेपालको कानुनी वृत्तमा प्रतिष्ठित नाम, डिसी नेपालका स्तम्भकार एवं वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त तथा कुमुदा पन्तका सुपुत्र सुधिज्ञले सगरमाथाको चुचुरोमा पाइला टेकेर इतिहास रचेका हुन्।
साहसिक र चुनौतीपूर्ण मानिने पर्वतारोहण क्षेत्रमा प्राप्त यो अभूतपूर्व उपलब्धिले समग्र राष्ट्रका साथै विशेष गरी नेपाली कानुन क्षेत्रको शिर उच्च बनाएको छ। अदालतको बहसमा व्यस्त रहने कानुन व्यवसायीले संसारकै अग्लो शिखरमा देशको झन्डा फहराउनुले कानुनी क्षेत्रमा समेत ठूलो उत्साह र खुसीयाली छाएको छ।
पर्वतारोहण र साहसिक यात्राको क्षेत्रमा सुधिज्ञको यो पहिलो सफलता भने होइन। यसअघि नै उनले चुनौतीपूर्ण मानिने लोबुचे इस्ट हिमालको सफलतापूर्वक आरोहण गरेर आफ्नो पर्वतारोहणको यात्रा सुरु गरिसकेका थिए।
लोबुचे इस्टको सफल आरोहणबाट प्राप्त अनुभव, आत्मविश्वास र ऊर्जालाई समेट्दै उनले आफ्नो साहसिक पाइलालाई संसारकै सर्वोच्च बिन्दुतिर अगाडि बढाउने अठोट गरेका थिए।
लामो समयको शारीरिक अभ्यास, मानसिक तयारी र पर्वतारोहणसम्बन्धी कडा प्रशिक्षणपछि उनी यस वर्षको वसन्त ऋतुको आरोहण दलमा सहभागी भई सगरमाथातर्फ प्रस्थान गरेका थिए। प्रतिकूल मौसम र अनेकौँ भौगोलिक चुनौतीहरूलाई चिर्दै अन्ततः उनले सगरमाथाको चुचुरो चुमेर आफ्नो सपनालाई साकार पारेका हुन्।
उनको यो ऐतिहासिक सफलता केवल एउटा शिखरको आरोहण मात्र नभएर उनको अथक मेहनत, दृढ इच्छाशक्ति, कठोर परिश्रम र कहिल्यै हार नमान्ने उच्च मनोबलको उत्कृष्ट उदाहरण हो।
न्यायालयको बहसदेखि हिमालको ओरालो-उकालोसम्मको यो यात्रा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। विश्वकै प्रतिष्ठित, कठिन र जोखिमपूर्ण मानिने सगरमाथा आरोहण गरी देशलाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित तुल्याएको यस ऐतिहासिक एवं गौरवमय अवसरमा अधिवक्ता सुधिज्ञ पन्त र उनको सम्पूर्ण पन्त परिवारप्रति चौतर्फी रूपमा हार्दिक बधाई तथा शुभकामना व्यक्त भइरहेको छ।
कानुन व्यवसायी, सहकर्मी, आफन्त तथा शुभचिन्तकहरूले साहसिक यात्राको यो नयाँ उचाइ चुमेसँगै आगामी दिनहरूमा पनि उनले जीवनका हरेक क्षेत्रमा यस्तै थप नयाँ र ऐतिहासिक शिखरहरू चुम्दै जाऊन् भन्दै उज्ज्वल भविष्यको कामना गरिएकाे छ।







डिसी नेपाल







Facebook Comment