तालिमका क्रममा सशस्त्र प्रहरीका आठ जवान बेहोस, हेलिकप्टरबाट काठमाडौं एयरलिफ्ट
धनगढी। कैलालीको टीकापुरमा सशस्त्र प्रहरीको तालिम लिइरहेका आठ जना जवानहरू अत्यधिक गर्मीका कारण बेहोस भएका छन्।
राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम केन्द्र टीकापुरमा तालिमरत ती जवानहरू शुक्रबार बिहान नियमित दौडिने (पिटी) क्रममा अचानक बेहोस भएका हुन्। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार बिहान करिब ९ बजेतिर उनीहरू मैदानमै ढलेका थिए।
बेहोस हुने प्रशिक्षार्थी जवानहरूमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।
मैदानमै बेहोस भए लगत्तै उनीहरूलाई उद्धार गरेर तत्काल टीकापुर अस्पताल पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचारका साथै अक्सिजन दिँदा पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप र आकस्मिक उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ रेफर गरिएको छ।
पछिल्लो समय कैलाली लगायत तराई क्षेत्रमा बढेको अत्यधिक गर्मी र तातो हावाका कारण शरीरमा पानीको मात्रा कम भई प्रशिक्षार्थीहरूलाई श्वासप्रश्वासमा असहजता र बेहोस हुने समस्या देखिएको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment