नेपाली चिया निर्यातको अवरोध हट्यो, जुनमा नेपाल-चीन संयन्त्रको बैठक बस्ने
काठमाडौं। नेपाली चियाको भारत निर्यातमा देखिएको नीतिगत अवरोध पूर्ण रूपमा हटेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिए।
नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको निरन्तर समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः सहज भएको उनले बताए।
यसैबिच, नेपाल र चीनबिचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौंमा आयोजना हुने तय भएको छ।
बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन्। यसै अवधिमा नेपालले नर्वे र स्विट्जरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्ने तयारी गरेको छ।
पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको बताए।
उनका अनुसार हालसम्म ६ सय ८७ जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा मात्रै ७१ जना थपिएका छन्।
कम्बोडियाका जेलमा रहेका २९ जना नेपालीको कानुनी सहायताका लागि पहल भइरहेको छ भने म्यानमारमा कैद मिनाहाका लागि कूटनीतिक प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ।
विदेशमा रहेका नेपालीहरूलाई परामर्श र सहयोग उपलब्ध गराउन मन्त्रालयले आगामी जेठ २२ गते ‘मोफा मित्र’ एप सार्वजनिक गर्ने तयारी गरेको छ। व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणालीलाई पनि थप विस्तार गरिएको छ।
अर्कोतर्फ, राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारी गरिरहेको छ। आगामी असार अन्तिम सातादेखि नयाँ प्रणाली पूर्ण रूपमा लागू हुने र हाल राहदानी सेवा सुचारु रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
नयाँ प्रणालीमा संक्रमणकालीन अवस्थामा सहजताका लागि पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठ महिनाभित्रै आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ।
संयुक्त अधिराज्य (यूके) की पार्लियामेन्ट्री अन्डर सेक्रेटरी सीमा मल्होत्राको हालै भएको नेपाल भ्रमण र परराष्ट्रमन्त्रीसँगको भेटवार्ता, एफएटीएफको ‘ग्रे लिस्ट’ बाट बाहिरिने सम्बन्धमा भएका प्रयासहरू तथा विमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट एग्रिमेन्टको कार्यान्वयनका विषयमा पनि प्रवक्ता क्षेत्रीले जानकारी गराए।
मन्त्रालयले आगामी जेठ २९ गते ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ भव्य रूपमा मनाउने र प्रोफेसर यदुनाथ खनाल प्रवचन शृङ्खलाको पाँचौँ संस्करण असारमा आयोजना गर्ने तयारी गरेको छ।
सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीमध्ये परराष्ट्र मन्त्रालयसँग सम्बन्धित २४ बुँदामध्ये ११ वटा सम्पन्न भइसकेको समेत सो अवसरमा जानकारी दिइएो छ।







डिसी नेपाल







Facebook Comment