सुदूरपश्चिम र लुम्बिनीमा ‘लू’ को जोखिम, घरबाहिर ननिस्किन अपिल
काठमाडौं । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लाहरूमा आगामी केही दिन गर्मी अझै बढ्ने भएको छ। हालकै अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज साँझ एक विशेष बुलेटिन जारी गर्दै थप सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाका अनुसार यी दुई प्रदेशका तराई तथा पहाडी भू-भागमा आगामी तीन दिनसम्म तातो हावा अर्थात् ‘लू’ चल्ने सम्भावना छ।
मौसमविद्हरूका अनुसार सुदूरपश्चिम र लुम्बिनीका तराई तथा पहाडी जिल्लाहरूमा तापक्रम तीव्र रूपमा बढिरहेको छ। महाशाखाले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङलाई अत्यधिक गर्मी हुने जिल्लाका रूपमा वर्गीकरण गर्दै विशेष सतर्क रहन भनेको छ।
यसैगरी बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लामा पनि गर्मी थप बढ्ने भएकाले स्थानीय बासिन्दालाई मौसम सम्बन्धी अध्यावधिक जानकारी लिन अनुरोध गरिएको छ।
गत जेठ ६ गतेदेखि नै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।
देशभरको तापक्रमको विश्लेषण अनुसार आगामी तीन दिन पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने र थोरै स्थानहरूमा ४० डिग्री सेल्सियसभन्दा माथि पुगी अत्यधिक गर्मी हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ।
तराईका भू-भागमा मध्यम तातो लहर र पहाडी भू-भागमा ‘तातो दिन’ हुने भएकाले आवश्यक तयारी गर्न महाशाखाले विशेष ध्यानाकर्षण गराएको छ।
अत्यधिक गर्मी र तातो हावाका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सचेत गराएका छन्। जनरल फिजिसियन डा. देवेन्द्र आचार्यका अनुसार तातो लहरका कारण शरीरमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने र बान्ता आउने जस्ता लक्षणहरू देखिन सक्छन्।
गर्मीको यस्तो जोखिमबाट बच्न डा. आचार्यले अत्यावश्यक काम नपरी चर्को घाममा घरबाहिर ननिस्किन र घरभित्रै चिसो स्थानमा बस्न सुझाव दिनुभएको छ।
बाहिर निस्किनै परे शरीर ढाक्ने गरी सुतीको हल्का कपडा लगाउन, घामको सीधा असरबाट बच्न टोपी वा छाताको प्रयोग गर्न र शरीरमा पानीको मात्रा कम हुन नदिन पटक-पटक सादा पानी, जुस, वा सर्बत जस्ता झोलिलो पदार्थ पिउन उहाँको आग्रह छ।
गर्मीका कारण स्वास्थ्यमा कुनै पनि समस्या वा असहजता देखिएमा ढिला नगरी तुरुन्त स्वास्थ्यकर्मीसँग सल्लाह लिन समेत चिकित्सकहरूले परामर्श दिएका छन्।







डिसी नेपाल







Facebook Comment