लुम्बिनी र सुदूरपश्चिममा ‘लु’ को खतरा: तापक्रम ४० डिग्री नाघ्ने, विशेष सतर्कताको अपील

डिसी नेपाल
९ जेठ २०८३ ६:३३

काठमाडौं। देशका केही भू-भागमा अत्यधिक गर्मी बढेपछि जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ।

विभागले देशभरको तापक्रमको अवस्था विश्लेषण गरी आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै सतर्कताका लागि आह्वान गरेको हो।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने देखिएको छ।

यी क्षेत्रमा गत जेठ ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भइरहेकाले आगामी तीन दिनसम्म तराईमा मध्यम तातो लहर र पहाडी क्षेत्रमा तातो दिन हुने अनुमान गरिएको छ।

विभागले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङलाई उच्च सतर्कता अपनाउनुपर्ने जिल्लाका रूपमा वर्गीकरण गरेको छ। यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तुलाई मौसमी अवस्था निरन्तर अद्यावधिक गर्नुपर्ने जिल्लाका रूपमा तोकिएको छ।

तातो हावा र लहरका कारण मानिसमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने मौसमविद्हरूले बताएका छन्। यस्ता सम्भावित असरहरूबाट बच्न बढी गर्मीको समयमा घरभित्रै वा चिसो स्थानमा रहन, चर्को घाममा बाहिर ननिस्कन र हल्का सुतीको कपडा लगाउन विभागले सुझाएको छ।

यसैगरी बाहिर निस्कनै परेमा टाउको छोप्ने वा टोपी लगाउने, नियमित रूपमा पानी तथा झोल पदार्थहरू प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

विभागले मौसम पूर्वानुमान महाशाखाबाट दैनिक रूपमा जारी हुने बुलेटिनमार्फत नियमित मौसमी सूचनाको जानकारी लिइरहन सर्वसाधारणलाई अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *