पाँचथरमा बाढीपहिरोको वितण्डा: चार परिवार विस्थापित, निर्माणाधीन पुल र जलविद्युत् आयोजनामा करोडौँको क्षति
पाँचथर। अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका-१ का चार परिवार विस्थापित भएका छन्। पहिरोले घर उच्च जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। बाढी र पहिरोका कारण जिल्लाका विभिन्न क्षेत्रमा भौतिक पूर्वाधार र निजी आवासमा ठूलो क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार पहिरोले घर बगाएपछि याङवरक-१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंथाप्रसाद बेघाको परिवार विस्थापित भएको हो।
विस्थापित मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा तथा गंगाप्रसादको ६ जनाको परिवार दाजु दुर्गा बेघाको घरमा आश्रय लिइरहेका छन्। सोही स्थानका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि उनको ६ जनाको परिवारलाई पनि सुरक्षित स्थानमा विस्थापित गरिएको छ।
यसैगरी कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडाँडाका रबिन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरुङ र डम्बरबहादुर गुरुङको घर जोखिममा परेको छ। एकराते टोलका रत्नमान राई, लछुमान राई, राजेश राई, कमलबहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगरडाँडा टोलका याम मगर, पूर्णकुमार मगर र सुजन मगरको घर पनि पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ।
बाढीले सञ्चार र यातायातका पूर्वाधारमा समेत गम्भीर क्षति पुर्याएको छ। लामिटारबाट चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल र याङवरक-२ दोभानेस्थित झोलुङ्गे पुलमा बाढीले क्षति पुर्याएको छ भने निर्माणाधीन दुईवटा सडक पुल बगाएको छ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक गाउँपालिका-२ दोभानेस्थित मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो सडक पुल, सडक र डाइभर्सनसमेत बाढीले बगाएपछि त्यस क्षेत्रको यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, तमोर करिडोर सडकअन्तर्गत हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलका संरचनासमेत बाढीले बगाएको छ।
याक्थुङहाङ निर्माण सेवा प्रालिले निर्माण गरिरहेको उक्त पुलका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन र फलामे पाइपलगायतका सामग्री बाढीले बगाएको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिनुभयो। पहिरोकै कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको ओयाम बजार र रिजाल भिर खण्ड पनि पूर्ण रूपमा अवरुद्ध बनेको छ।
प्राकृतिक विपत्तिका कारण जिल्लाका जलविद्युत् आयोजनाहरूमा पनि ठूलो नोक्सानी पुगेको छ। बाढी र पहिरोले याङवरक-२ मेवाखोलामा रहेको हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ भने पाँचथर-ताप्लेजुङ सीमामा अवस्थित इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रको पर्खाल भत्किएको छ। त्यसैगरी, काबेली खोलामा रहेको अरुण काबेली जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्याएको छ।
बाढी र पहिरोले स्थानीयको कृषि र खानेपानी क्षेत्रमा पनि असर पारेको छ। याङवरक-४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिन नष्ट भएको छ।
साथै टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना र मेची पहाडी खानेपानी योजनामा समेत बाढीले व्यापक क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।







डिसी नेपाल







Facebook Comment