नेपाल-चीन सीमा समन्वय बैठक : गैर-रसुवेली चालकलाई केरुङ जान दिने विषयमा चीन सकारात्मक

डिसी नेपाल
१० जेठ २०८३ १०:३३

धुञ्चे (रसुवा)। नेपाल र चीनबीचको नियमित द्विपक्षीय सीमा समन्वय बैठक रसुवाको सदरमुकाम धुञ्चेस्थित जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ।

दुई देशका सीमावर्ती अधिकारीहरूबीच शनिबार भएको उक्त उच्चस्तरीय छलफलमा सीमा सुरक्षा, व्यापार सहजीकरण, आपसी समन्वय, सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई थप मजवुत र प्रभावकारी बनाउने विषयमा गम्भीर मन्थन भएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले गर्नुभएको थियो भने चिनियाँ पक्षको नेतृत्व अधिकारी चु जिनसाउनले गरेका थिए।

बैठकमा नेपाल र चीनबीच लामो समयदेखि रहँदै आएको ऐतिहासिक मित्रता, आपसी विश्वास र पारस्परिक सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा सघन छलफल भएको र बैठक अत्यन्तै फलदायी रहेको सहभागी अधिकारीहरूले बताएका छन्।

विशेषगरी हिमाली क्षेत्रका रैथाने जनताको दैनिकी, सीमावर्ती व्यापार तथा आवतजावतलाई सहज र सुरक्षित बनाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्। त्यसैगरी, रोजगारी तथा कामका सिलसिलामा केरुङ क्षेत्रमा बसोबास गर्दै आएका नेपाली नागरिकहरूको जिउधनको सुरक्षा, स्वास्थ्य उपचार र आवश्यक कानुनी सहजीकरणका विषयमा नेपाली पक्षले चिनियाँ अधिकारीहरूसमक्ष विशेष आग्रह गरेको थियो।

सीमा क्षेत्रबाट हुनसक्ने सम्भावित अवैध कारोबार, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायहरूलाई थप सजग, चनाखो र समन्वयात्मक रूपमा परिचालन गर्ने समझदारी समेत बैठकले गरेको छ।

यस पटकको बैठकमा रसुवा बाहिरका नेपाली सवारी चालकहरूका लागि पनि केरुङ प्रवेशमा सहजीकरण गर्ने विषयमा निकै सकारात्मक छलफल भएको छ। राहदानी (पासपोर्ट) भएका र असल चालचलन भएका अन्य जिल्लाका चालकहरूलाई समेत आवश्यक प्रक्रिया पूरा गरी क्रमशः केरुङ जान दिने सङ्केत चिनियाँ पक्षले दिएको छ।

यसअघि केवल रसुवा जिल्लाका रैथाने चालकहरूलाई मात्र प्राथमिकता दिने चिनियाँ प्रावधानका कारण अन्य क्षेत्रका ढुवानीकर्ता मारमा पर्दै आएका थिए। चिनियाँ अधिकारीहरूले यस व्यवस्थामा लचकता अपनाउने संकेत गरेसँगै नेपाली सवारी चालक तथा यातायात व्यवसायीहरूमा नयाँ उत्साह थपिएको छ भने यसले उत्तरी नाकाको व्यापार तथा ढुवानी क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार नेपाल र चीनबीच सीमा क्षेत्रमा देखिने तात्कालिक समस्या समाधान, सुरक्षा समन्वय तथा आपसी सहकार्यलाई निरन्तरता दिन कहिले केरुङ र कहिले रसुवामा आलोपालो बैठक बस्ने स्थापित प्रावधान छ।

सोही प्रणालीअनुसार नै यो बैठक नियमित रूपमा आयोजना गरिएको हो। सीमा क्षेत्रमा बन्दै गएको सकारात्मक वातावरण, व्यापारिक गतिविधिमा बढ्दो सहजता तथा दुई देशबीचको मित्रवत् सम्बन्धले रसुवासहित समग्र उत्तरी नाका क्षेत्रको आर्थिक गतिविधिमा नयाँ आशा र उत्साह जगाएको स्थानीय समाजसेवी मिलन तामाङले प्रतिक्रिया दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *