लागुऔषध तस्करीमा नयाँ शैली: काँक्रोभित्र खैरो हेरोइन, सोलुखुम्बुका श्रेष्ठ पक्राउ
कठमाडौं । दैनिक उपभोग्य वस्तुको प्रयोग गरी लागुऔषध तस्करी गर्ने नयाँ शैली प्रहरीले फेला पारेको छ। झापाबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५५०० नम्बरको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइँदै गरेको १०० ग्रामभन्दा बढी खैरो हेरोइनसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका-२ निवासी २६ वर्षीय विक्रम श्रेष्ठ रहेका छन्। उनलाई सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानस्थित बीपी राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय भिमानको टोलीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय भिमानका प्रमुख राजु केसी खत्रीका अनुसार विशेष सूचनाका आधारमा श्रेष्ठले बोकेको रातो रङको झोला खानतलासी गर्दा उक्त लागुऔषध बरामद भएको हो।
“तस्करले सुरक्षा निकायलाई भ्रममा पार्न काँक्रोको भित्री भाग खपेर प्वाल बनाई कालो र सेतो प्लास्टिकले बेरेका दुईवटा पोका लुकाएको पाइयो,” प्रमुख खत्रीले भने। बरामद गरिएको पदार्थको प्लास्टिकबाहेकको शुद्ध तौल १०० ग्राम ४२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार परम्परागत तरिका बदल्दै तस्करहरूले पछिल्लो समय दैनिक उपभोग्य सामग्री र फलफूललाई तस्करीको माध्यम बनाउन थालेका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि सिन्धुली जिल्ला अदालतबाट आइतबार १० दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालयले कानुनी प्रक्रिया अघि बढाएको छ।







डिसी नेपाल







Facebook Comment