खोकनामा तीन महिने धिमे नाच प्रशिक्षण सम्पन्न: नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको प्रयास

डिसी नेपाल
११ जेठ २०८३ ११:१९

ललितपुर। ललितपुर महानगरपालिका वडा नं. २१ स्थित ऐतिहासिक एवं सांस्कृतिक बस्ती खोकनामा नेवार समुदायको परम्परागत ‘धिमे नाच’ र बाजाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तीन महिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

समावेशी बाजागाजा प्रशिक्षण समितिको आयोजना तथा २१ नम्बर वडा कार्यालयको आर्थिक एवं प्राविधिक सहयोगमा उक्त प्रशिक्षण सञ्चालन गरिएको हो।

आधुनिकीकरणको बढ्दो प्रभावका बीच आफ्नो मौलिक कला र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने र यसैका माध्यमबाट स्थानीय पर्यटन तथा आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य कार्यक्रमको रहेको छ।

नेवाः संस्कृति र पहिचानलाई जीवन्त राख्न वडा कार्यालयले यस कार्यक्रमलाई प्राथमिकतामा राखेर सहयोग गरेको वडाअध्यक्ष रविन्द्र महर्जनले बताए। वडाध्यक्ष महर्जनले धिमे नाच विशेष गरी खुसीयाली, उमंग र उत्सवको साझा प्रतीक भएको उल्लेख गरे।

उनका अनुसार काठमाडौं उपत्यकाका प्रसिद्ध जात्राहरू-इन्द्रजात्रा, बिस्केट जात्रा, रातो मच्छिन्द्रनाथको भोटो जात्रा लगायतका स्थानीय सांस्कृतिक पर्वहरूमा धिमे नाच र बाजा नभई नहुने मुख्य आकर्षणका रूपमा रहने गर्छन्।

प्राचीन कालदेखि नै कृषि पेसामा आबद्ध नेवार समुदायले खेतबाट नयाँ बाली भित्र्याएको खुसीयालीमा प्रकृतिप्रति कृतज्ञता प्रकट गर्न यो नाच नाच्ने परम्परा रहेको इतिहास छ। समयक्रमसँगै यो कला विवाह, व्रतबन्ध, गुठीका पूजाआजा र अन्य सामाजिक तथा सांस्कृतिक उत्सवहरूमा अतिथिको सत्कार एवं मनोरञ्जनका लागि अनिवार्य जस्तै बन्दै गएको छ।

धिमे नाच मनोरञ्जनको साधन मात्र नभई यसले सिङ्गो नेवार समुदायको समृद्ध इतिहास र जीवनशैली झल्काउने वडाध्यक्ष महर्जनले प्रस्ट पारे। यस कलाले समुदायका मानिसहरूलाई एउटै सुत्रमा बाँधेर आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्न ठूलो भूमिका खेल्ने उनको भनाइ छ।

यस नाचको अर्को मुख्य विशेषता भनेको यसको मौलिक भेषभूषा र गायनको शैली हो। नाचका क्रममा महिलाहरू रातो किनारा भएको कालो साडी (हाकु पटासी), चौबन्दी चोलो, कम्मरमा पटुकी र परम्परागत चाँदीका गहनामा सजिन्छन्।

त्यसैगरी पुरुषहरू नेवारी पोसाक ‘तापाल्न’, सुरुवाल, कम्मरमा पटुकी र शिरमा कालो भाद्गाउँले टोपी ढल्काएर धिमेको तालमा ढोलक र भुस्याः बजाउँदै उत्साहका साथ प्रस्तुत हुने गर्छन्।

पछिल्लो समय विश्वव्यापीकरण र पश्चिमी संस्कृतिको प्रभावका कारण परम्परागत संस्कारहरू हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै वडाध्यक्ष महर्जनले भने, “आधुनिकीकरणले गर्दा हाम्रा मौलिक परम्पराहरू हराउँदै जाने हुन् कि भन्ने ठूलो डर थियो, तर अहिले यो प्रशिक्षणमा युवा पुस्ताले जसरी धिमे बाजा बजाउन र नाच्न उत्साह देखाएका छन्, यसले हाम्रो मौलिक संस्कृति जोगिनेमा हामीलाई पूर्ण रूपमा आशावादी बनाएको छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *