गाउँघरमा ‘साइलेन्ट किलर’ बन्दै नसर्ने रोग: रामेछापका शिविरमा लुकेका बिरामीको लाम
रामेछाप। कुनै समय ‘धनी र विलासी जीवनशैली’ भएका मानिसलाई मात्र लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँघरमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ।
एक पटक लागेपछि लामो समय वा जीवनभर नै औषधि खानुपर्ने र उपचार गरिरहनुपर्ने नसर्ने रोगको प्रकोप ग्रामीण क्षेत्रका विपन्न नागरिकहरूमा नपत्याउँदो गरी भयानक रूपमा फैलिएको पाइएको छ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले ग्रामीण भेगमा सञ्चालन गरेको स्वास्थ्य शिविरहरूमा यस्ता बिरामीहरूको ठुलो सङ्ख्या फेला पर्न थालेको छ।
चिकित्सालयका प्रमुख दीपक कार्कीका अनुसार शिविरहरूमा उच्च रक्तचाप, मधुमेह, बाथ, नसा सम्बन्धी समस्या र पक्षघातका बिरामीहरू अत्यधिक मात्रामा आउने गरेका छन्।
शिविरमा औसत ५० जनाको स्वास्थ्य जाँच गर्दा कम्तीमा ५ जनामा उच्च रक्तचाप र मधुमेहको गम्भीर अवस्था देखिने गरेको छ। तीमध्ये अधिकांशले यसअघि कहिल्यै जाँच नगराएको र औषधि समेत नखाएको पाइनुले ग्रामीण स्वास्थ्यको अवस्था निक्कै जटिल मोडमा पुगेको संकेत गर्छ।
अनभिज्ञ बिरामी: सुगरको मात्रा ५०० भन्दा माथि
चिकित्सालयका प्रयोगशाला प्राविधिक सुमन चापागाईँका अनुसार यसअघि कहिल्यै जाँच नगराएका र कुनै औषधि नखाएका ग्रामीण नागरिकहरूमा समेत सुगर (चिनी) को मात्रा ५०० मिलिग्राम/डीएलभन्दा बढी फेला परेको छ।
सामान्यतया खाना खाएपछि रगतमा चिनीको स्तर १४० भन्दा कम हुनुपर्छ र २०० भन्दा बढी भएमा त्यसलाई मधुमेह मानिन्छ। शरीरले इन्सुलिनको उचित प्रयोग गर्न नसक्दा वा पर्याप्त इन्सुलिन उत्पादन नहुँदा यो अवस्था आउँछ।
केही दिनअघि खाँडादेवी गाउँपालिका-४ रजगाउँमा आयोजना गरिएको शिविरमा जाँच गर्दा एकजना बिरामीमा सुगरको मात्रा ५२४ मिलिग्राम/डीएल र अन्य केहीमा ४०० भन्दा बढी पाइएको थियो। चिकित्सालयले साप्ताहिक रूपमा सञ्चालन गर्ने शिविरहरूमा पनि मधुमेहका यस्तै लुकेका बिरामीहरू निरन्तर फेला परिरहेका छन्।
समयमै मधुमेहको उपचार र नियन्त्रण नगर्दा यसले शरीरमा गम्भीर क्षति पुर्याउने चिकित्सालयका डा. उत्तम गैरे बताउँछन्। उनका अनुसार सुगर अनियन्त्रित हुँदा सबैभन्दा बढी र चाँडो असर आँखामा पर्छ। यसबाहेक नसा फुट्ने, हृदयाघात (हर्ट अट्याक) को जोखिम बढ्ने र मिर्गौला फेल गराउने जस्ता ज्यान लिने समस्याहरू यसकै कारण निम्तिने गर्छन्।
उच्च रक्तचापको डरलाग्दो रूप
मधुमेह जस्तै ग्रामीण बस्तीहरूमा उच्च रक्तचाप (हाइपरटेन्सन) को समस्या पनि डरलाग्दो गरी बढेको छ। सामान्यतया १२०/८० एमएम एचजी हुनुपर्ने रक्तचाप कतिपय ग्रामीण नागरिकमा १८०/१३० एमएम एचजीभन्दा माथिसम्म पुगेको पाइएको छ।
यसरी रक्तचाप बढेका कतिपयले हालसम्म कुनै औषधि खाएका छैनन् भने औषधि खाइरहेकाहरूको समेत रक्तचाप नियन्त्रणमा नरहेको भेटिएको छ। यो समस्या युवादेखि ज्येष्ठ नागरिकसम्मै व्याप्त छ।
उच्च रक्तचापले धमनीहरूमा रगतको दबाब असामान्य रूपमा बढाएर हृदयाघात, मस्तिष्कघात (स्ट्रोक), मिर्गौलाको खराबी र अन्य गम्भीर रोगहरूको जोखिमलाई कयौँ गुणा बढाउने चिकित्सकहरू बताउँछन्। यी मुख्य रोगबाहेक ग्रामीण भेगका बिरामीहरूमा युरिक एसिड, जोर्नी र नसा दुख्ने समस्या, छालाको रोग र अत्यधिक मात्रामा ग्यास्ट्रिकको समस्या समेत पाइएको छ।
किन बढ्दै छन् गाउँमा यस्ता रोग?
ग्रामीण क्षेत्रमा यसरी नसर्ने रोगको प्रकोप बढ्नुमा बदलिँदो जीवनशैली र खानपान मुख्य जिम्मेवार रहेको चिकित्सकहरूको निष्कर्ष छ। चिकित्सालयकी डा. सविता भण्डारीका अनुसार गाउँघरमा पनि रैथाने र ताजा खानपान छोडेर बजारिया खाद्यान्न र कृत्रिम पेय पदार्थहरूको अधिक सेवन गर्ने बानी बढेको छ।
त्यस्तै, पछिल्लो समय शारीरिक श्रम वा व्यायाम घट्दै जानु, व्यवहार र प्रविधिमा आएको परिवर्तन तथा मानसिक तनावका कारण यस्ता रोगहरू रैथाने बन्दै गएका छन्।
गाउँलेहरूलाई यो भयानक अवस्थाबाट जोगाउन अब तत्कालै गाउँ-गाउँमा खानपान सुधार र जीवनशैली व्यवस्थापनका सचेतनामूलक कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्न आवश्यक भइसकेको चिकित्सकहरूले औँल्याएका छन्।







डिसी नेपाल







Facebook Comment