काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल

डिसी नेपाल
१२ जेठ २०८३ १०:३८

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ।

नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै वडा नं. २, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्यलाई तीव्र पारिएको जनाएको हो।

सङ्क्रमण देखिएका क्षेत्रमा भेटिएका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने तथा सो क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने कार्य भइरहेको नगरपालिकाले उल्लेख गरेको छ।

रोगलाई थप फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाएको छ भने अनिवार्य अवस्थामा प्रवेश गर्नै परेमा निसंक्रमण गर्नुपर्ने नियम लागू गरेको छ।

संक्रमणको जोखिम कम गर्न एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेको अन्डा राख्ने क्रेट पुनः प्रयोग गर्न नपाइने र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको फुटपाथ मात्र प्रयोग गर्न निर्देशन दिइएको छ। साथै, कृषकहरूलाई खोरभित्र जाँदा छुट्टै बुट र एप्रोनको प्रयोग गर्न तथा दैनिक रूपमा खोर निसंक्रमण गर्न समेत सचेत गराइएको छ।

यसैगरी, नगरपालिकाले पन्छी फार्म परिसरमा कुकुर, बिरालो र मुसा जस्ता जनावरहरूको प्रवेश रोक्न र अचानक मरेका पन्छीहरूलाई तुरुन्तै सुरक्षित तवरले खाल्डोमा गाड्न आग्रह गरेको छ।

पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने कानुनी व्यवस्थालाई कडाइ गरिएको छ भने मासु तथा अण्डाजन्य पदार्थहरू राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सूचित गरिएको छ। नगरपालिकाले कतै ठूलो संख्यामा पन्छीहरू बिरामी परेमा वा मरेमा लुकाएर नराखी तुरुन्तै नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *