तेन्जिङ नोर्गे शेर्पा खुल्ला लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४ र १५ मा हुँदै, यस्तो छ तयारी

डिसी नेपाल
१२ जेठ २०८३ १२:१७

काठमाडौं। साहसिक पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ “तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” को तेस्रो संस्करण यही जेठ १४ र १५ गते काठमाडौंमा आयोजना हुने भएको छ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन इंकको संयुक्त आयोजनामा हुन लागेको यस प्रतियोगितालाई नेपालको प्रमुख साहसिक खेलकुद उत्सवमध्ये एकका रूपमा लिइन्छ।

विश्वप्रसिद्ध कीर्तिमानी आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको ऐतिहासिक योगदानलाई सम्मान गर्न हरेक वर्ष आयोजना गरिने यस प्रतियोगितामा यसपटक पनि स्वदेशी तथा विदेशी आरोहीहरूले उत्साहजनक रूपमा प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक आरोहीहरूका लागि आवेदन फारम भर्ने अन्तिम समय आज जेठ १२ गतेसम्म मात्र खुला गरिएको छ।

इच्छुक प्रतिस्पर्धीहरूले ठमेलस्थित एस्ट्रेक क्लाइम्बिङ वाल वा गैरीधारामा रहेको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनको कार्यालयबाट आवेदन फारम प्राप्त गरी दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। यस वर्षको खेलमा पुरुष र महिला गरी दुई छुट्टाछुट्टै विधामा कडा प्रतिस्पर्धा हुनेछ।

दुवै विधातर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बुद्विमान आरोहीहरूले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार सहित पदक प्राप्त गर्नेछन्।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुल सिङ गुरुङका अनुसार जेठ १४ गते बिहान ९ बजेदेखि सुरु हुने उद्घाटन सत्रमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा मुख्य अतिथिका रूपमा उपस्थित हुनेछन्।

त्यस्तै, जेठ १५ गते (मे २९) मा हुने फाइनल प्रतिस्पर्धा तथा पुरस्कार वितरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पाको विशेष उपस्थिति रहनेछ।

अहिलेसम्म २२ जना पुरुष र १० जना महिला आरोहीहरूले आफ्नो नाम सुरक्षित गरिसकेको जानकारी दिँदै अध्यक्ष गुरुङले प्रतियोगिता अवधिसम्म करिब ४० पुरुष र १५ महिला खेलाडीहरू सहभागी हुने अपेक्षा गरिएको बताए।

यस वर्षको संस्करण अघिल्ला वर्षहरूभन्दा प्राविधिक रूपमा निकै विशेष र फरक हुने आयोजकको दाबी छ। विगतका दुई संस्करणहरू टप-रोप क्लाइम्बिङमा मात्र सीमित रहेकाेमा यसपटक पहिलो पटक आरोहीहरूले निकै चुनौतीपूर्ण मानिने ‘लिड क्लाइम्बिङ’ विधामा आफ्नो कौशल देखाउनु पर्नेछ।

सन् १९५३ मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकेको ऐतिहासिक दिन (मे २९) को सुखद अवसर पारेर यो फाइनल खेल खेलाउन लागिएको हो, जसले प्रतियोगिताको गरिमालाई अझ बढाएको छ।

अध्यक्ष गुरुङले विगतका वर्षहरूमा मे २९ अर्थात् सगरमाथा दिवसलाई मुख्यतः र्‍याली, औपचारिक गोष्ठी वा प्रमाणपत्र वितरणमा मात्र सीमित राखिने गरिएको पृष्ठभूमि कोट्याउँदै यसपटक इतिहाससँग जोडिएको यो महत्त्वलाई खेलकुदसँग जोडिएको बताए।

ऐतिहासिक दिनमा प्राविधिक एवं साहसिक खेलकुदका कार्यक्रमहरू कमै हुने परिपाटीलाई तोड्दै सुरु हुन लागेको यो प्रतियोगिताले नेपालको क्लाइम्बिङ क्षेत्रको विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

इतिहास, खेल र साहसिक भावनाको त्रिवेणीका रूपमा हेरिएको यस कार्यक्रमले नेपालमा विकसित हुँदै गएको साहसिक खेल संस्कृतिलाई देश-विदेशमा प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्तालाई पर्वतारोहणतर्फ आकर्षित गर्न ठूलो प्रेरणा दिने आयोजक टोलीको अपेक्षा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *