काठमाडौंको मध्यभागमा १३२ केभीको भूमिगत प्रसारण लाइन निर्माण हुने

डिसी नेपाल
१२ जेठ २०८३ १३:१४

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौं चक्रपथभित्रको विद्युत् आपूर्तिलाई अझ बढी भरपर्दो र सहज बनाउने उद्देश्यका साथ १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ।

राजधानीको मध्यभागमा विद्युत् खपत बढाउनुका साथै सहरी सौन्दर्यलाई समेत अभिवृद्धि गर्ने दीर्घकालीन लक्ष्यका साथ यो नयाँ परियोजना अघि बढाइएको हो।

प्राधिकरणको प्रस्तावअनुसार यो प्रसारण लाइन बालाजु सबस्टेसनबाट सुरु भई महाराजगञ्ज, राजदरबार, रत्नपार्क हुँदै सिंहदरबारसम्म जोडिनेछ।

बालाजुदेखि सिंहदरबारसम्म निर्माण हुने यस डबल सर्किट भूमिगत प्रसारण लाइनको कुल लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ, जसको निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस महत्त्वपूर्ण परियोजनाअन्तर्गत महाराजगञ्ज, राजदरबार र रत्नपार्कमा १३२/११ केभी क्षमताका नयाँ सबस्टेसनहरू निर्माण गरिनेछन् भने सिंहदरबारमा १३२/६६/११ केभी क्षमताको सबस्टेसन स्थापना गरिनेछ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि आवश्यक अनुमति पत्र (लाइसेन्स) लिन प्राधिकरणले विद्युत् विकास विभागमा औपचारिक आवेदन समेत दिइसकेको छ।

१३२ केभी क्षमताको यस भूमिगत डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ३५० मेगावाटसम्म विद्युत् शक्ति प्रवाह गर्न सकिने प्राविधिक अनुमान गरिएको छ।

आयोजना कार्यान्वयनका क्रममा कुल २१ वटा ‘ज्वाइन्ट पिट्स’ हरू निर्माण गरिनेछन्, जसको अधिकतम दूरी ५०० मिटरसम्म रहनेछ र यो सम्पूर्ण आयोजनाका लागि कुल १ दशमलव ६२ हेक्टर जमिन आवश्यक पर्नेछ।

परियोजना निर्माण तथा सञ्चालन गर्दा विद्युत् ऐन, २०४९ को दफा २४ को परिधिभित्र रही भूक्षय, बाढी, ध्वनि तथा वायुप्रदूषण जस्ता वातावरणीय पक्षमा कुनै पनि उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी काम गर्नुपर्नेछ।

विद्युत् विकास विभागले यस आयोजनाका सम्बन्धमा सरोकारवालाहरूबाट आवश्यक सुझाव र सल्लाह उपलब्ध गराउन सार्वजनिक सूचनामार्फत अपिल समेत गरेको छ।

धिकरणले यसअघि नै रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा भूमिगत केबुल बिछ्याउने काम गरिसकेको छ भने काठमाडौँ, ललितपुर, पोखरा र भरतपुरका विभिन्न क्षेत्रमा पनि यस्ता आयोजनाहरू निर्माणको अन्तिम चरणमा छन्।

सहरी सौन्दर्यता र सहज विद्युत् आपूर्तिका लागि सुरु गरिएका यस्ता भूमिगत प्रसारण लाइनका परियोजनाहरू तोकिएको समयमै पूरा हुन सकेमा मात्र अपेक्षित राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *