महाकालीको आवाज: सीमा, स्मृति र चेतनाको यात्रा

तोमनाथ उप्रेती
१६ जेठ २०८३ ८:०३

महाकालीको आवाज पहिलोपटक सुन्दा मलाई लाग्यो- नदीहरू केवल पानी होइनन्। तिनीहरू समय हुन्, तिनीहरू स्मृति हुन्। तिनीहरू मानव सभ्यताले भोगेका सबै मौन इतिहासका बगिरहेका अध्याय हुन्।

दार्चुलाको पहाडमुनि उभिँदा मैले महसुस गरेँ, यहाँको हावा पनि साधारण छैन, यसभित्र सीमाको अदृश्य तनाव मिसिएको छ। यहाँ प्रत्येक ढुङ्गाले कुनै पुरानो सन्धिको प्रतिध्वनि बोकेको छ, प्रत्येक बाटोले कसैको यात्रा सम्झिरहेको छ र प्रत्येक मानिसको आँखामा एउटा प्रश्न बाँचिरहेको छ– “सीमा वास्तवमा कहाँ हुन्छ ?”

म यो यात्रामा केवल दृश्य हेर्न निस्किएको थिइनँ, म त आफैँलाई सुन्न निस्किएको थिएँ। किनकि कहिलेकाहीँ मानिसलाई सहरको भीडबाट टाढा जानुपर्छ, ताकि उसले आफ्नो भित्रको आवाज सुन्न सकोस्।

विराटनगरको धुलो, काठमाडौँका बहस, नक्साका राजनीति र राष्ट्रवादका नाराहरू- यी सबैबाट धेरै टाढा म त्यस्तो भूगोलतर्फ हिँड्दै थिएँ, जहाँ प्रकृति अझै मानिसभन्दा ठूली देखिन्थी। जहाँ नदीले कुनै झण्डा बोक्दिनथी र जहाँ हिमालले कुनै राष्ट्रको पक्ष लिँदैनथ्यो।

मलाई सधैँ लाग्थ्यो- मानिसले सीमाहरू कोर्छ, तर चेतनाले ती सीमाहरू मान्दैन। शायद यही कारणले यात्रा आवश्यक हुन्छ। यात्रा केवल दूरी पार गर्नु होइन, यो त आफूभित्रको बन्द ढोका खोल्नु हो। जब मानिस परिचित ठाउँहरू छोड्छ, तब उसले आफूलाई नयाँ आँखाले हेर्न थाल्छ।

महाकालीतर्फको यो यात्रा पनि त्यस्तै थियो– भूगोलको यात्रा कम, चेतनाको यात्रा बढी। म जान्दथेँ, त्यहाँ पहाडहरू भेटिनेछन्, नदी भेटिनेछ, इतिहास भेटिनेछ; तर सबैभन्दा गहिरो कुरा शायद मौनता हुनेछ। किनकि कहिलेकाहीँ उत्तर शब्दमा होइन, मौनताभित्र लुकेको हुन्छ।

खलंगाको त्यो बिहान

दार्चुलाको बिहान सधैँ चिसो हुन्छ। तर, त्यो चिसोपन केवल मौसमको मात्र होइन; त्यहाँको हावाभित्र एउटा प्रतीक्षा मिसिएको हुन्छ। महाकालीको आवाजसँगै ब्युँझिने सहर, पहाडको काखमा अडिएको आकाश र सीमाको मौन तनाव- यी सबैले दार्चुलालाई साधारण भूगोल हुन दिँदैनन्।

बिहानको धुम्मिँदो उज्यालोमा सहर बिस्तारै ब्युँझन्छ, तर त्यो ब्युँझाइबित्र पनि एउटा अनकथित चिन्ता बाँचिरहेको हुन्छ। यहाँका मानिसहरू मौसमसँग मात्र होइन, सीमासँग पनि बाँचिरहेका हुन्छन्।

म त्यही बिहान खलङ्गाको एउटा झ्यालछेउ उभिएको थिएँ। तल महाकाली बगिरहेकी थिई। नदी धेरै पुरानो देखिन्थ्यो, मानौँ उसले मानिसका सबै विवादहरू देखिसकेको होस्।

उसले साम्राज्य देख्यो, उसले सन्धि देख्यो, उसले नक्सा फेरिएको पनि देख्यो; तर ऊ आफैँ कहिल्यै बदलिइन। नदीको पानी उस्तै बगिरहेको थियो– शान्त, गहिरो र उदास। मलाई लाग्यो, प्रकृति कहिल्यै राजनीतिमा सहभागी हुँदैन, तर उसले राजनीतिका सबै घाउहरू सम्झिराख्छ।

खलङ्गाका साना घरहरूबाट धुवाँ उठ्दै थियो। चियापसलहरू खुल्दै थिए, सडकमा मानिसहरू हिँडिरहेका थिए। तर, उनीहरूको अनुहारमा एउटा मौन गम्भीरता थियो। सीमामा बस्ने मानिसहरूको जीवन सधैँ सामान्य हुँदैन। उनीहरूलाई थाहा हुन्छ- राजधानीमा कोरिएको एउटा रेखाले कहिलेकाहीँ गाउँको भविष्य बदलिदिन्छ। यहाँ खबर कहिलेकाहीँ अस्तित्वको प्रश्न बनिदिन्छ।

म यात्रा गर्न निस्किएको थिएँ, तर यो यात्रा मनोरञ्जनको थिएन। यो त ती भूभागहरूतर्फको यात्रा थियो, जसलाई नक्साले ‘विवादित’ भन्छ, तर पहाडले आफ्नै शरीर ठान्छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा- यी नामहरू स्मृतिका तहहरू हुन्।

यी इतिहासका अधुरा वाक्यहरू हुन्, जसलाई समयले अझै पूरा गरिसकेको छैन। यी नामहरू सुन्दा स्थानजस्ता लाग्छन्, तर जब तिमी त्यहाँतर्फ हिँड्न थाल्छौ, तब बुझिन्छ- यी नामहरू भूगोल होइनन्, चेतनाका घाउ हुन्। यी शब्दहरू स्मृति, पीडा, इतिहास र मौनताको संगम हुन्।

मलाई लाग्यो- सीमा वास्तवमा रेखा होइन, एउटा मनोविज्ञान हो। जहाँ डर हुन्छ, त्यहाँ सीमा कडा हुन्छ; जहाँ विश्वास हुन्छ, त्यहाँ बाटो खुला हुन्छ। तर, हिमालयका यी उचाइहरूमा विश्वासभन्दा बढी सन्देह बसिरहेको थियो।

सैनिक चौकीहरू पहाडका ढुङ्गाजस्तै देखिन्थे, झण्डाहरू हावामा फर्फराइरहेका थिए; तर त्यो हावाले कुनै राष्ट्र चिन्दैनथ्यो, उसले केवल यात्रा चिन्दथ्यो।

इतिहासको प्रतिध्वनि र पहाडको धैर्य

महाकालीको किनारमा उभिँदा मलाई अचानक इतिहासको आवाज सुनिएजस्तो लाग्यो। कुनै समय यही बाटो भएर व्यापारीहरू तिब्बत पुगे, यही भञ्ज्याङ हुँदै तीर्थयात्रीहरू कैलाशतर्फ हिँडे र पछि यही बाटोमा सैनिकहरू आए।

त्यसपछि नक्सा आयो, त्यसपछि दाबी आयो र अन्ततः विवाद! मानिसले बाटोलाई पनि राजनीति बनाइदियो।

तर, पहाडहरू उस्तै थिए- उनीहरू मौन थिए। त्यो मौनता डरको होइन, धैर्यको थियो। मानौँ उनीहरूले हजारौँ वर्षदेखि मानिसका अस्थायी क्रोधहरू हेरिरहेका छन्। मलाई लाग्यो, पहाडहरूलाई थाहा छ कि कुनै पनि शक्ति स्थायी हुँदैन। साम्राज्यहरू उठ्छन्, ढल्छन्; तर हिमालय समयभन्दा पनि धैर्यवान् रहन्छ।

दार्चुलाबाट माथि उक्लिँदै गर्दा सडक साँघुरो हुँदै गयो। एकातिर पहाड थियो, अर्कोतिर गहिरो भीर, बीचमा महाकाली। नदीपारि भारत थियो, वारि नेपाल। तर, नदीलाई त्यसको कुनै मतलब थिएन। उसले न सीमा चिनेकी थिई, न राष्ट्र।

ऊ केवल बगिरहेकी थिई- पुरानो, मौन र निरन्तर। मलाई अचानक लाग्यो, शायद प्रकृति कहिल्यै राष्ट्रवादी हुँदैन। राष्ट्रवाद त मानिसको स्मृतिले बनाएको संरचना मात्र हो। नदीहरू दिशातर्फ बग्छन्, विचारतर्फ होइन।

रुखहरू चुप थिए, तर त्यो मौनता मृत थिएन; त्यो त ‘सुन्ने मौनता’ थियो। जस्तो कि पहाडले हजारौँ वर्षदेखि मानिसका निर्णयहरू, युद्धहरू, सम्झौताहरू र दाबीहरू हेरेर पनि कुनै प्रतिक्रिया नदिएको होस्। पहाडहरूको धैर्य समयभन्दा पुरानो लाग्थ्यो। मानिसहरू नक्सा फेरिरहेका थिए, तर हिमालय उस्तै अडिग उभिएको थियो।

छाङ्गरुको यथार्थ: राज्यविहीनताको थकान

गाडी छाङ्गरुतर्फ अघि बढ्दै थियो। हावामा उचाइ मिसिँदै गयो, अक्सिजन कम हुँदै गयो, तर अनुभूति भने झन् गहिरिँदै गयो। मलाई लाग्यो, मानिस जति माथि चढ्छ, उति आफूलाई सानो देख्न थाल्छ।

सहरहरूमा हामी आफैँलाई धेरै ठूलो ठान्छौँ, तर हिमालयले मानिसलाई उसको वास्तविक आकार देखाइदिन्छ। यहाँ आएपछि मात्र थाहा हुन्छ- अस्तित्वको विशालताका अगाडि मानिस केवल एउटा क्षणिक सासरूपी अंश मात्र हो।

त्यहाँका गाउँहरू सरल थिए- ढुङ्गाका घरहरू, टिनका छाना र हावाले हल्लिने प्रार्थनाका झण्डाहरू। तर, ती गाउँहरू केवल बस्ती मात्र थिएनन्, ती त प्रतीक्षाहरू थिए- सडकको प्रतीक्षा, राज्यको प्रतीक्षा, र आफ्नो सुनुवाइको प्रतीक्षा!

छाङ्गरुका एक वृद्धले भने, “हामी सीमामा बस्छौँ, तर राज्य हामीसम्म कहिल्यै आइपुग्दैन।” उनको स्वरमा रिस थिएन, मात्र एउटा गहिरो थकान थियो। त्यो थकान उमेरको मात्र थिएन, त्यो त वर्षौँको उपेक्षा र बेवास्ताको थकान थियो।

मैले उनको अनुहार हेरेँ; त्यो अनुहार पहाडजस्तै देखिन्थ्यो- कडा, मौन, तर भित्र गहिरो पीडा बोकेको। उनका आँखाहरूमा मैले एउटा अनौठो स्थिरता देखेँ, जस्तो कि उनले धेरै वर्षदेखि आशा र निराशाबीचको दूरी नापिरहेका हुन्।

सीमामा बस्ने मानिसहरू राजनीतिक भाषणभन्दा धेरै यथार्थवादी हुन्छन्। उनीहरूलाई थाहा हुन्छ- नक्सामा कोरिएको रेखाले पेट भरिँदैन। सडक, स्वास्थ्य, शिक्षा र राज्यको पहुँच नै उनीहरूको वास्तविक राष्ट्र हो।

त्यहाँ बिजुली कमजोर थियो, फोनले काम गर्दैनथ्यो। रात परेपछि गाउँ झन् मौन हुन्थ्यो। तर, मानिसहरू अझै बाँचिरहेका थिए, उनीहरू हाँसिरहेका थिए। बालबालिकाहरू दौडिरहेका थिए, बुढाबुढीहरू आगोछेउ बसिरहेका थिए।

मलाई लाग्यो- सभ्यता केवल इन्टरनेट र आधुनिकता मात्र होइन रहेछ, सभ्यता त कठिन भूगोलमा पनि मानिसले आशा बचाइराख्नु हो। विकास केवल सहरको उज्यालो होइन, विकास त अँध्यारो गाउँमा पनि मानिसले आफ्नो भविष्य देख्न सक्नु हो।

सुगौली सन्धिको घाउ र प्रकृतिको साझारूप

त्यस साँझ महाकाली किनारमा म धेरै बेर बसिरहेँ। नदी कालो देखिन्थी, शायद त्यसैले उसको नाम ‘महाकाली’ रह्यो। तर, त्यो कालोपन डरको थिएन, त्यो त गहिराइको प्रतीक थियो।

पानीको आवाज लगातार सुनिन्थ्यो, मानौँ नदीले समयसँग संवाद गरिरहेकी होस्। मलाई लाग्यो, नदीहरू कहिल्यै हतारिँदैनन्, उनीहरूलाई थाहा हुन्छ कि अन्ततः सबै कुरा समुद्रमा पुगेर मौन हुनु नै छ।

म सम्झिन थालेँ- सुगौली सन्धि, अङ्ग्रेज, नक्सा, र काली नदीको मुहान। इतिहास अचानक किताबका पानाहरूबाट निस्किएर भूगोलमा उभिएको थियो। सन् १८१६ मा कोरिएको एउटा रेखाले आजसम्म मानिसहरूको चेतनालाई बाँडिरहेको थियो।

कसैले नदीलाई सीमा भन्यो, कसैले जलाधारलाई; कसैले इतिहासलाई प्रमाण बनायो, कसैले भूगोललाई। तर, नदी अझै बगिरही, उसले कसैको पक्ष लिइन।

मलाई त्यही क्षण एउटा अनौठो अनुभूति भयो- सीमाहरू वास्तवमा नक्सामा होइन, स्मृतिमा कोरिन्छन्। मानिसहरूले भूमिभन्दा पहिले आफ्नो चेतनालाई बाँड्छन् र त्यसपछि मात्र रेखाहरू जन्मिन्छन्।

महाकालीको किनारमा बसेर मैले महसुस गरेँ- शायद सबैभन्दा ठूलो विवाद भूमि होइन, मानिसको “मेरो” भन्ने अहङ्कार हो। प्रकृति त सधैँ साझा रहन्छ, केवल मानिसले उसलाई टुक्र्याएर आफ्नो नाम लेख्न खोज्छ।

सडक: राष्ट्र र नागरिकबीचको संवाद

भोलिपल्ट बिहान हामी अझ माथि उक्लियौं। हावा झन् चिसो हुँदै गयो, सास फेर्दा फोक्सोभित्र हिमाल पसिरहेको जस्तो लाग्थ्यो। आकाश तल झर्दै थियो, बादलहरू पहाडका काँधमा अडिएर बसेका थिए।

अनि अचानक मोड काट्नेबित्तिकै मैले भारतीय पक्षको चौडा र पक्की सडक देखेँ। पहाडको कठोर शरीर चिरेर बनाइएको मार्ग, चट्टान फुटाएर निकालिएको रेखा! त्यो एउटा राष्ट्रको दृढ इच्छाशक्ति थियो।

म धेरै बेर त्यहीँ उभिएर हेरिरहेँ। नेपालतर्फ पहाडहरू मौन थिए, उतापट्टि मेसिनको स्मृति बाँकी थियो। त्यो दृश्यले मलाई भित्र कताकता चस्कायो। किनकि राष्ट्र केवल नारा र भाषणले बन्दैन, राष्ट्र त्यतिबेला बन्छ, जब राज्य आफ्ना सबैभन्दा टाढाका नागरिकसम्म पुग्न सक्छ, जब सीमाको अन्तिम गाउँले पनि आफूलाई देशभित्र सुरक्षित र सम्मानित महसुस गर्न पाउँछ।

मलाई दार्चुलाका ती मानिसहरूको आवाज सम्झना आयो- “हामीलाई सडक चाहियो।” त्यो माग केवल भौतिक विकासको मात्र थिएन, त्यो त उनीहरूको अस्तित्वको माग थियो।

सडक कहिलेकाहीँ पुलभन्दा पनि ठूलो कुरा बनिदिन्छ; त्यो राज्य र नागरिकबीचको जीवित संवाद हुन्छ। जहाँ सडक रोकिन्छ, त्यहाँबाट मानिसहरू बिस्तारै राष्ट्रको मूल प्रवाहबाट टाढा हुन थाल्छन्।

मैले छाङ्गरुका ती वृद्धको अनुहार सम्झेँ। उनका आँखामा गुनासो थिएन, तर एउटा मौन प्रतीक्षा थियो- राज्यको प्रतीक्षा। मैले महसुस गरेँ, सीमामा बस्ने मानिसहरू नक्साका रेखाभन्दा धेरै गहिरा हुन्छन्। उनीहरू राष्ट्रका अन्तिम शास (रक्षक) हुन्; यदि त्यो शास कमजोर भयो भने नक्सा केवल कागजको टुक्रा मात्र रहन्छ।

चेतनाको अन्तिम गन्तव्य

त्यहाँबाट टाढा अपी र नाम्पाका हिमालहरू देखिन्थे। हिउँले ढाकिएका शिखरहरू आकाशसँग मिसिएका थिए। ती अत्यन्त शान्त देखिन्थे, तर त्यो शान्ति निष्क्रिय थिएन, त्यो त धैर्य थियो। शायद हिमालले मानिसलाई यही सिकाउँछ– साँचो शक्तिले कहिल्यै ठूलो आवाज गर्दैन, त्यो त स्थिर रहन्छ।

म धेरै बेर हिमालतर्फ हेरेर बसिरहेँ। अचानक लाग्यो, यी हिमालहरूले कति साम्राज्यहरूको उदय र पतन देखेका छन्! अङ्ग्रेज आए, सन्धिहरू भए, नक्साहरू फेरिए; तर हिमाल उस्तै रहे।

इतिहास यहाँ किताबमा होइन, चट्टानभित्र लेखिएको छ। हिउँ पग्लिँदा पनि शायद त्यो स्मृति बगेर जाँदैन। हावामा एउटा पुरानो समयको सुगन्ध थियो, मानौँ यहाँको प्रत्येक ढुङ्गाले कुनै न कुनै कथा सम्झिरहेको होस्।

लिपुलेकतर्फको बाटो अझ गहिरो अनुभूति बोकेको थियो। मलाई लाग्यो, यो केवल एउटा भञ्ज्याङ होइन, यो त सभ्यताहरूको पुरानो ढोका हो। यही बाटो हुँदै व्यापारीहरू तिब्बत पुगे, यहीँबाट तीर्थयात्रीहरू कैलाश गए, यहीँ सैनिकहरू हिँडे र यहीँ साम्राज्यका योजनाहरू बने। प्रत्येक पाइला इतिहासको प्रतिध्वनिको रूपमा गुञ्जिरहेको लाग्थ्यो।

भूगोल अचानक जीवित भइसकेको थियो। मैले बुझ्न थालेँ- भूगोल कहिल्यै तटस्थ हुँदैन; प्रत्येक नदीभित्र राजनीति हुन्छ र प्रत्येक पहाडभित्र रणनीति लुकेको हुन्छ। तर, त्यसै क्षण अर्को अनुभूति पनि आयो- राजनीतिभन्दा धेरै ठूलो प्रकृति हुन्छ। किनकि सीमाविवादका बीच पनि बादल उस्तै सर्दै थिए, हिउँ उस्तै पग्लिरहेको थियो र नदी उस्तै बगिरहेकी थिई। प्रकृतिले कुनै दाबी गर्दिन, दाबी केवल मानिसले गर्छ।

साँझ बिस्तारै प्रकृतिको काखमा ओर्लँदै थियो। आकाशमा बाक्ला बादलहरू भरिए, चिसो हावा शरीरभित्र छिर्न थाल्यो। म एक्लै उभिएको थिएँ– अगाडि विशाल पहाड, तल महाकाली र वरिपरि गहिरो मौनता।

त्यो मौनता खाली थिएन, त्यो त हजारौँ वर्षको स्मृतिले भरिएको मौनता थियो। मैले अचानक महसुस गरेँ- यो यात्रा वास्तवमा सीमाको मात्र यात्रा होइन रहेछ, यो त चेतनाको यात्रा रहेछ।

कालापानी केवल भूभाग होइन, यो त एउटा जीवन्त प्रश्न हो- “राष्ट्र भनेको आखिर के हो ?” के राष्ट्र केवल नक्सामा कोरिएको रेखा हो ? के राष्ट्र केवल सत्ता र प्रशासन हो ? वा राष्ट्र त्यो आत्मीय अनुभूति हो, जहाँ सीमाको अन्तिम गाउँले पनि आफूलाई राज्यद्वारा बिर्सिएको महसुस गर्दैन ? ती प्रश्नहरू हावाभित्र घुमिरहे, तर उत्तर कतै थिएन।

रात झन् गहिरिँदै गयो। हिमालहरू बिस्तारै अँध्यारोभित्र हराउन थाले। टाढा कतै हावाले प्रार्थना-झण्डा हल्लाइरहेको मधुर आवाज सुनिन्थ्यो। महाकालीको गर्जन अझै आइरहेको थियो। त्यो आवाज समयजस्तै लाग्थ्यो- निरन्तर, अविराम र अडिग।

मैले नदीतर्फ अन्तिमपटक हेरेँ। अचानक लाग्यो, मानिसहरू इतिहास लेख्छन्, तर प्रकृतिले त्यसलाई शान्त रूपमा हेरेर बस्छ। नदीले साम्राज्यहरू डुबेको देख्छ, सन्धिहरू बदलिएको देख्छ, नक्सा फेरिएको देख्छ, तर ऊ आफैँ अविचलित बगिरहन्छ। शायद यही कारणले प्रकृति मानिसभन्दा धेरै बुद्धिमान् छ- उसले स्वामित्व खोज्दिन, ऊ केवल अस्तित्वमा लीन रहन्छ।

त्यो रात मैले एउटा अन्तिम सत्य महसुस गरेँ- मानिस सीमाहरू बनाउँछ, समय तिनीहरूलाई परीक्षण गर्छ र प्रकृति तिनीहरूमाथि निर्बाध बगिरहन्छ। शायद इतिहासको सबैभन्दा ठूलो विडम्बना यही हो कि हामी जुन भूमिलाई “मेरो” भन्छौँ, त्यो भूमि आफैँमा कसैको हुँदैन।

पहाडले कसैलाई पक्षपात गर्दैन, नदीले कसैको झण्डा बोक्दिन। तर, मानिसले आफ्नो चेतनाभित्र सीमाहरू कोर्छ र जीवनभर ती सीमाहरू बचाउन संघर्ष गरिरहन्छ।

महाकालीको किनारमा उभिँदा मैले बुझेँ- यात्रा कहिल्यै गन्तव्यसम्म पुग्नु मात्र होइन। यात्रा त त्यो जीवन्त क्षण हो, जहाँ बाहिरी भूगोलले मानिसको भित्री चेतनालाई हल्लाउन थाल्छ। र शायद यही कारणले, यस्ता केही यात्राहरू कहिल्यै समाप्त हुँदैनन्; ती स्मृति बनिरहन्छन्, चेतना बनिरहन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *