कविता : मिजास

भूमिका गैरे तिमिल्सिना
१६ जेठ २०८३ ८:५०

बाचुन्जेल दु:खले
छोडेन अभाव उस्तै
बेवश भो जिन्दगी
कहिल्यै आहा भएन।

आफ्ना पीडा लुकाई
अरूका लागि हाँस्दा
धैर्य बानीले होला
कहिल्यै डाहा भएन।

सबलाई समान
देख्ने स्वभावले त
कति फाइदा लिए
अरूले थाहा भएन।

सरल हुँनु पनि त
कसुर रहेछ यहाँ
अज्ञानी भयो मन
पहिल्यै थाहा भएन।

न अरू जस्तो हुनु छ
न सिको गर्नु छ केही
न सुखले तान्न सक्यो
जीवन वाहा भएन।

न ठूला सपना भएँ
न ठूला आकांक्षा नै
उपाधि सरलको पाएँ
स्वाङ्को चाहा भएन।

बालापनका खुसी
कति मिठा सम्झना
घुम्छन् आँखाभरि अझ
बित्यो पत्तै भएन।

ती साथीसंगी आज
आउँछन् पुराना याद
दिमागमा रहलान्
कहिल्यै थाहा भएन।

ती निश्छलका बोली
त्यो आत्मियता आज
स्वार्थपूर्ण भो परिधि
स्वच्छ यहाँ भएन।

विचार नयाँ दिऊ
सदा यो जगतमा
मिठास बाड्न सकूँ
ठूलो अरू भएन।

काव्यको रसपान
अमृत बन्छ बरू
नवीन सोचले दियो
ऊर्जा अरू भएन।

कविका हुन्छन् सिर्जना
कोमल उदार भाव
लिन जान्यो जसले
धन्य अरू भएन।

गद्य कविता : याद

याद भन्ने चिज खै कस्तो रहेछ ?
बुझ्न गाह्रो
जति बुझ्यो झन साह्रो
भने झै डाक्नै पर्दैन
हरबखत सल्बलाउँछ
सित्तैमा आउँछ।

समयको ख्याल छैन त्यसलाई
नत पाबन्दी छ
न रोक्न सकिन्छ
नत छेक्न नै
केवल आउँछ, घरि घरि
यादका तरङ्गहरू।

कस्तो अचम्म ?
कोशेली झैं फिर्ता पठाउन पाए नि हुने
भरिया बोकाएर पठाउथेँ होला
ऊ मक्ख छ
अडिग छ हिमाल सरी
बालापन देखि कै छन्
ती यादका भकारी
जति उकालो चढ्यो
उति पछ्याउँदो रहेछ।

कति मिठा हुन् ती स्मृतिका पाना
घरिघरि पल्टाउँन मन लाग्छ। अटुट नाता छ
ऊ सँग
खोतल्न मन लाग्छ
अतीतका ती रमाइला क्षण सम्झँदा
तैरिन मन लाग्छ अनि आफूले आफैलाई भुल्न पनि
कति सजिलै ?
बेमौसमी वेतालमा दौड्न मन लाग्छ, यादका तरङ्गसँग।

कहिले तिम्रा ती याद छरपस्ट हुन्छन्
बाटो छेक्छन् अनि पसारो बन्छन्।
त कहिले त्यहीँ कठ्याङ्ग्रिदो हिउँदको
पुष माघ झै तुसारो बन्छ
गिज्याउँछ
रोक्छ खोज्छ अनि
अगाडि बढ्न नसक्ने तगारो बन्छ।

नयाँ भिजन, कार्यशैली
नवीनतम सोचलाई ठाडै चुनौती दिन्छ।
ती यादले
न भकारी भरिन्छ
न गुजारा नै चल्छ
न दान दिन मिल्छ
न टुङ्ग्याउँन
न घटाउँन सकिन्छ
न हटाउँन
नत भाउ बढाउन नै
ती यादहरू सबैको मैजारो गर्न मन छ, तर कसरी ?

तिम्रा ती यादहरू फिर्ता लैजाऊ
न रंगीन कलाले भित्तामा सजाउन मिल्छ।
तिम्रा ती यादहरू संगालेर टेण्डर हाल्न मन छ
शेयर बजारमा
तर अफसोस
न खरिद बिक्री हुन्छ।
त्यसैले सधैंका लागि तिलाञ्जली दिन मन छ।

तर फेरि सोच्छु
ती याद नहुदा हुन् त
मान्छे के गर्दा हुन् ?
उसैको सहाराले जीवन कटाएका छन् कतिले ?
अनुभव साटेका छन् बाँचेका छन् अनि मुस्कुराएका पनि |

ऊ खुसी पार्न माहिर छ
अनौठो कला छ
डोर्याउँछ कहाँ कहाँ ?
चलाउँछ केवल अनुभूतिका लहरहरू
लैजान्छ जहाँ तहाँ ?
डुलाउँछ चारैतिर
ऊ चतुर पनि छ
दुरुस्तै पार्छ
देखाउँछ अनुभूतिका चित्र
मगज चलाउँन सिपालु छ।

ती मिठा याद ती स्मृतिका पाना,
अनुभवका, तितामिठा उकाली ओराली
सम्झिएर त आज कोही अनुभवी भए
त कोही निखारिए, तिखारिए
अनि परिपक्क कहलिए।
ती मिठा याद जीवन्त राख्न मन छ
यादै यादको पहेलीले भरिएको जीवनमा हल्ला मुस्कुराउँन मन छ
केवल मुस्कुराउँन !!

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *