गोविन्द गिरी ‘प्रेरणा’ सँगको आत्मीय सामीप्य

ज्ञानेन्द्र विवश
१६ जेठ २०८३ ८:२२

समय एउटा अविरल नदी हो, जो कसैका लागि पनि पर्खिएर बस्दैन। नदीको पानी जसरी बगेर जान्छ, त्यसरी नै हाम्रो जीवनका पलहरू पनि अज्ञात क्षितिजतर्फ बिलाएर जान्छन्। तर, यो गतिशीलताका बीचमा पनि एउटा यस्तो तत्व छ, जसलाई समयको क्रूर थप्पडले पनि मेटाउन सक्दैन- त्यो हो स्मृति।

भौतिक रूपमा मानिसहरू आउँछन्, जान्छन्; परिस्थितिहरू बदलिन्छन् र युगहरू परिवर्तन हुन्छन्, तर स्मृतिहरू सधैँ अमर रहन्छन्। तिनीहरू मनको कुनामा सुरक्षित रहन्छन्, जहाँ समयको कुनै कानुन चल्दैन।

भेटिनु र भेटिएको क्षणमा आत्मीय सामीप्य महसुस गर्न पाउनु खुसीको अर्को उपलब्धि हो। यस्तै एउटा भेट गोविन्द गिरी ‘प्रेरणा’ सँग भयो, जसले एक दशकपछिको आत्मीय सामीप्यलाई पुनः ताजा बनाइदियो। म जस्तै भलाकुसारीमा रमाउन उहाँ पनि सधैँ उत्सुक रहनुहुन्छ। अमेरिकाबाट यता नेपाल फर्किएपछि पनि विभिन्न साहित्यिक कार्यक्रममा सामेल हुनुका साथसाथै साहित्यकारहरूसँगको भेट र वार्तामा उहाँ सरिक भइरहनुभएको छ।

जीवनमा हुने प्रत्येक भेटहरू संयोग वा भेटमै मात्र सीमित हुँदैनन्। ती त स्मृतिको एउटा जीवन्त अभिलेखालयमा स्वर्ण अक्षरले कुँदिने ऐतिहासिक पलहरू हुन्। हरेक व्यक्तिसँगको सामीप्य, हरेक नयाँ अनुहार र हरेक संवादले मेरो अन्तरात्मामा एउटा गहिरो छाप छोडेर जान्छ। ती सबै आत्मीय सामीप्यका प्रेमिल संलापहरू हुन्।

हरेक नयाँ भेट, हरेक नयाँ अनुभव र हरेक नयाँ विचारले जीवनलाई नयाँ र सकारात्मक ऊर्जा प्रदान गर्छ। फरक मानिसका फरक दृष्टि र भोगाइहरूले हाम्रो सोच्ने दायरालाई फराकिलो बनाउँछन्। म सधैँ त्यही नयाँ ऊर्जा र नवीन चेतनाको खोजीमा भौँतारिरहेको छु। म हरेक भेटहरूमा भौतिक रूपमा मात्र होइन, आत्मिक रूपमा भेटिन चाहन्छु।

सतही नै सही, कुराकानीमा एकैछिन भए पनि रमाउन चाहन्छु, जहाँ भावनाहरूको जीवन्त आदान-प्रदान होस्। किनभने मलाई थाहा छ- संसारमा सबैथोक नश्वर छ, तर स्मृति सधैँ अमर रहन्छ। म आफ्ना प्रत्येक भेटहरूलाई मनमा अमर स्मृतिको रूपमा सजाइराख्न चाहन्छु।

यही ऊर्जाको खोजी र अमर स्मृतिको निर्माण गर्ने क्रममा भर्खरै मेरो मानसपटलमा एक सुन्दर र सुवासिलो स्मृति थपिएको छ। त्यो पल हो– विगत लगभग साढे दुई दशकदेखि अमेरिकालाई आफ्नो कर्मभूमि बनाउँदै आउनुभएका, तर आफ्नो मन र मुटु सधैँ नेपाली माटोमै छोडेर हिँड्ने सक्रिय, सृजनशील र सशक्त लेखक गोविन्द गिरी ‘प्रेरणा’ सँगको आत्मीय भेट र भलाकुसारी!

मैले चिनेसम्म उहाँ नेपाली साहित्यका एक अथक र ऊर्जावान् साधक हुनुहुन्छ। सात समुद्रपारिको व्यस्त र यान्त्रिक जीवनमा हराएर पनि उहाँले आफ्नो लेखकीय पाटोलाई कहिल्यै मर्न दिनुभएन। अमेरिकाको नेपाली ‘डायस्पोरा’ मा बसेर पनि उहाँ अनवरत नेपाली साहित्यकै श्रीवृद्धिमा रमाइरहनुभयो, लेखिरहनुभयो र सिर्जनाका सुगन्धहरू नेपालीभाषी साहित्यिक मनहरूमा छरिरहनुभयो।

उहाँको यही निरन्तरता र साहित्यप्रतिको अगाध प्रेम मेरा लागि पनि सधैँ प्रेरणाको स्रोत बनिरह्यो। वास्तवमा उहाँको उपनाम ‘प्रेरणा’ व्यवहारमै सार्थक छ, उहाँ निकै प्रेरणादायी व्यक्ति हुनुहुन्छ।

अन्तराल, उत्खनन, अन्तिम खाडल, सुतेको समुद्र, लिभिङ टुगेदर, पाउलीबुलु, गन्तव्य गणबहाल, छड्के तिलहरी, फेरो, दुई दशकका चिन्तनहरू, सुश्री पारिजात, टुप्लुक्क टोकियो, घोराही शून्य किलोमिटर, अ-विधवा आदि मैले सम्झेका र पढेका चार दर्जन उहाँका कृतिमध्ये केही प्रतिनिधि कृतिहरू हुन्।

लामो समयको अन्तरालपछि जब उहाँ आफ्नो मातृभूमि नेपाल फर्कनुभयो, उहाँको आगमन एउटा व्यक्तिको पुनरागमन मात्र रहेन, त्यो त एउटा साहित्यिक उत्सव जस्तै बन्यो। नेपाल ओर्लिएको केही दिनमै उहाँको लामो कथाहरूको सँगालो ‘अ-विधवा’ सार्वजनिक भयो। यसरी उहाँ जहाँ रहे पनि, जुन भूगोलमा बाँचे पनि उहाँको चिन्तन र सिर्जनाको मूल जरो यही नेपाली समाज र यसका संवेदनाहरूसँगै जोडिएको छ।

उहाँ नेपाली साहित्यका यस्ता बहुआयामिक स्रष्टा हुनुहुन्छ, जसको कलमले साहित्यका लगभग सबैजसो प्रमुख विधाहरूलाई स्पर्श गरेको छ। चाहे त्यो मानव मनका जटिलताहरू उधिनिएका कथा र उपन्यास हुन्, चाहे जीवनका दर्शन र संवेगहरू समेटिएका निबन्ध र नियात्रा हुन् वा भावनाका तरङ्गहरू बगेका कविता र समालोचना नै किन नहुन्- उहाँले हरेक विधामा आफ्नो सशक्त र अमिट उपस्थिति जनाउनुभएको छ।

गोविन्द गिरी ‘प्रेरणा’ को व्यक्तित्वको सबैभन्दा सुन्दर पक्ष उहाँको शालीन स्वभाव र हार्दिक मनको उदारता हो। उहाँ अग्रज पुस्तालाई अगाध सम्मान गर्ने र अनुज एवं युवा पुस्तालाई हार्दिक माया र हौसला दिने एउटा आत्मीय अभिभावक हुनुहुन्छ।

उहाँसँग कुरा गरिरहँदा उहाँका आँखाहरूमा अग्रजहरूप्रतिको श्रद्धा र नेपाली साहित्यको भविष्यप्रतिको भरोसा स्पष्ट देखिन्छ। उहाँसँगको भलाकुसारीमा मलाई लाग्यो- म कुनै एउटा व्यक्तिसँग मात्र होइन, नेपाली वाङ्मयको एउटा गतिशील पुस्तकालयको सामीप्यमा छु।

म अग्रज पुस्ताका यस्तै आदरणीय व्यक्तित्वहरूलाई सम्झेर, उहाँहरूलाई भेटेर, उहाँहरूका कुरा सुनेर मेरो आफ्नै अनुभूतिको अभिलेखमा उहाँहरूको जीवन र योगदानलाई जीवन्त उतार्न चाहन्छु।

उहाँसँगको यो भेटले मलाई उहाँको जीवनयात्राको त्यो गहिराइ र बाहिरी रूपलाई आदरपूर्वक चुम्ने र योगदानलाई नजिकबाट सम्मान गर्ने अवसर प्रदान गरिदिएको छ। उहाँका अनुभवका अमूल्य दीपहरूले मेरो चेतनालाई थप उज्यालो बनाएका छन्।

अन्ततः, वर्तमान क्षणभरमै भूतकाल बनिदिन्छ, तर त्यो क्षणले दिएको स्मृति मानसपटलमा सदाबहार रहन्छ। गोविन्द गिरी ‘प्रेरणा’ सँगको बसाइ, चियाको चुस्की र साहित्यका विविध आयाममा गरिएका भलाकुसारीहरू अब मेरो स्मृतिको पानामा स्वर्ण अक्षरले सुरक्षित भएका छन्।

भौतिक रूपमा उहाँ फेरि आफ्नो कर्मभूमि फर्किनुहोला, म आफ्नै लेखन यात्रामा व्यस्त रहौँला, तर हामीबीचको त्यो आत्मीय संवादको सुवास मेरो मनमा सधैँ ताजा रहनेछ। किनकि, मानिसहरू टाढा हुन सक्छन्, समय बदलिन सक्छ, तर आत्मीयताको जगमा कोरिएको स्मृति सधैँ अमर रहन्छ, सधैँ जीवित रहन्छ। लगभग एक दशकभन्दा बढीको अन्तरालपछि उहाँलाई देख्दा यस्तो लाग्यो, मानौँ समय उहाँका लागि कहीँकतै ठिङ्ग उभिएको छ।

उही चिरपरिचित मृदुभाषी शैली, उही मित्रमिजास व्यवहार र अनुहारमा देखिने उही सक्रियताको चमक। अग्रजलाई सम्मान र अनुजलाई स्नेह बाँड्ने उहाँको त्यो जादुमयी शैलीमा अलिकति पनि ह्रास आएको रहेनछ।

गोविन्द गिरी ‘प्रेरणा’ लाई भेट्दा एउटा तस्बिर मानसपटलमा सधैँ आउँछ- सधैँ हतारमा, सधैँ व्यस्त र सधैँ केही न केही नयाँ सिर्जनामा तन्मय! पाँच दशक लामो उहाँको साहित्यिक यात्रा कुनै तपस्याभन्दा कम छैन।

कविताका कोमल भावना हुन् या कथा र उपन्यासका जटिल यथार्थ, निबन्ध र नियात्राका अनुभूति हुन् या समीक्षाको कसी, उहाँले हरेक क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउनुभएको छ। साहित्य उहाँका लागि विधा मात्र होइन, बरु बाँच्ने आधार र श्वास फेर्ने माध्यम बनेको महसुस हुन्छ।

यसैगरी विदेशी साहित्यलाई नेपालीमा अनुवाद गरेर उहाँले नेपाली पाठकका लागि विश्वसाहित्यको झ्याल खोलिदिनुभएको छ। यो समर्पण र यो निरन्तरता आजको पुस्ताका लागि एउटा अनुकरणीय पाठशाला हो।

उहाँको यो अथक साधनालाई समयले पनि सम्मान गरेको छ। युवा वर्ष मोती पुरस्कार, मैनाली कथा पुरस्कार, वासु शशी स्मृति पुरस्कार, नारायणी वाङ्मय पुरस्कार जस्ता गरिमामय सम्मानहरू उहाँको सिर्जनात्मक उचाइका साक्षी हुन्। तर, यी पुरस्कारहरूभन्दा ठूलो सम्मान त उहाँले पाठकको मनमा बनाएको अमिट छाप र उहाँमा रहेको अटुट साहित्यिक मन तथा आत्मीयता हो।

‘अ-विधवा’ को लोकार्पण कार्यक्रममा उहाँसँग हात मिलाउँदै गर्दा भूगोलले दूरी बढाउन सक्छ, तर अक्षरले जोडेको सम्बन्ध कहिल्यै टाढा हुँदैन भन्ने कुरा महसुस भयो। गोविन्द दाइको यो सक्रियता र लेखनप्रतिको भोक अझै कैयौँ दशकसम्म यसैगरी अगाडि बढिरहोस्। अक्षरका यी अथक यात्रीलाई हार्दिक शुभकामना!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *