तेस्रो तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता काठमाडौंमा सम्पन्न
काठमाडाैं। नेपालमा साहसिक आरोहण खेलको प्रवर्द्धन गर्ने र विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा तथा सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्ने उद्देश्यका साथ आयोजित ‘तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’को तेस्रो संस्करण शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ।
सन् १९५३ मे २९ मा भएको सगरमाथाको पहिलो सफल आरोहणको स्मृतिमा आयोजित यस प्रतियोगिताको फाइनल चरणमा ६ पुरुष र ६ महिला गरी कुल १२ खेलाडी पुगेका थिए। नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन को संयुक्त आयोजनामा भएको यस प्रतियोगितामा पहिलो पटक प्राविधिक रूपमा चुनौतीपूर्ण ‘लिड क्लाइम्बिङ’ विधा समावेश गरिएको थियो, जबकि यसअघिका संस्करणहरू टप-रोप क्लाइम्बिङमा मात्र सीमित थिए।
प्रतियोगिताको पुरुष विधामा रोनक उप्रेती प्रथम, विदेशी आरोही मिर्को लेरोस द्वितीय र तेन्जिङ बर्टिन राई तृतीय हुन सफल भए। त्यसैगरी महिला विधातर्फ स्वस्तिका चौधरीले प्रथम, याङ्किला शेर्पाले द्वितीय र पञ्चमाया तामाङले तृतीय स्थान हासिल गरे।
दुवै विधाका विजेताहरूले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानका लागि ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। विगतका वर्षहरूमा मे २९ को ऐतिहासिक दिनलाई मुख्यतः र्याली र औपचारिक कार्यक्रममा मात्र सीमित गरिने गरिएकोमा यस पटक प्राविधिक खेल प्रतियोगिता आयोजना गरेर साहसिक खेल संस्कृतिको विकास र युवा पुस्तालाई प्रेरित गर्ने नयाँ प्रयास गरिएको आयोजकले जनाएका छन्।
प्रतियोगिताको फाइनल कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पा प्रमुख अतिथिका रूपमा र तेन्जिङ नोर्गे शेर्पाका छोरा जाम्लिङ तेन्जिङ नोर्गे विशेष अतिथिका रूपमा उपस्थित थिए। यसका साथै पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा, यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनका च्याप्टर संयोजक लक्ष्मण तामाङ र नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनका महासचिव सन्तोष मादेन लगायतका सरोकारवाला व्यक्तित्वहरूको समेत कार्यक्रममा व्यापक सहभागिता रहेको थियो।







डिसी नेपाल







Facebook Comment