कविता : कुर्सी र सिनो
अशान्त छ मन
मरेको छ आस्था
निभेको छ बत्ती
रुझेको छ दिन
म पीडाले चिच्याइरहेछु
ऊ थपडी मारिरहेछ।
ऊ प्रतिशोधको छडी उठाउँछ
म इन्कारी बयान दिन्छु
म भ्रूणहत्याको अभियोग बोकेर
अदालत विचरण गर्छु
श्रीमान् गम्भीर देखिँदैनन्
कारण देखाऊ आदेश जारी नगरी
इजलास अन्त्य हुन्छ
म न्यायको याचना गर्छु।
न्यायमूर्तिहरू आफ्नो हैसियत गुमाएर
चाकरीमा निर्लिप्त बन्छन्
द्रव्यमोहमा तानिएर
विवादास्पद फैसला गर्छन्
न्यायमूर्तिहरू नै विवादित भएपछि
म खोजिरहेछु न्यायिक राज्य
काँपिरहेको मौन तराजुभित्र।
मलाई निर्वासित गर्ने गरी
संशोधित हुनेछ कानुन
मर्नेछ मानवअधिकार
खोसिनेछ वाक्-स्वतन्त्रता
म अनागरिक बन्नेछु
शिविरको शरणार्थीजस्तो।
म अभियोगपत्र च्यातेर
असहमति जाहेर गर्छु
तिम्रो अदालत निष्पक्ष छैन
मारिएका छन् न्यायिक आवाजहरू
म इजलास कब्जा गर्दै
विद्रोहको आरम्भ गर्छु।
मलाई मानहानिको मुद्दा लगाउँदै
फिरादपत्र लेखाऊ
किर्ते सर्जमिन गरी
नकली औँठाछाप लगाऊ
म तयार छैन अभियोजन बेहोर्न
मुद्दा किनारा नलागेसम्म
तिमी वादी हौला म प्रतिवादी खपूँला
तिम्रो तहकिकात झुट ठहरिनेछ
साक्षी प्रमाण जुट्ने छैन
मैले साबिती बयान नदिएसम्म।
श्रीमान् !
म तपाईँमाथि मुद्दा हाल्नेछु
मेरो अभियोजन प्रमाणित नभएपछि
तपाईँ सदरलाई बदर गराउने मतियार हो
नैतिक रूपमा तपाईँ पतन भइसक्नुभएको छ
कृपया पद त्याग्नुहोस्
तपाईँको कुर्सीमा सिनो गन्हाउँछ।
सुन्दरहरैँचा-०६, दुलारी, मोरङ















Facebook Comment