फिलिपिन्समा भूकम्पका कारण ३ जनाको मृत्यु पुष्टि, १३८ परकम्प जाँदा उद्धारमा कठिनाइ
A vehicle partially buried under rubble amid destruction caused by the magnitude 6.9 quake in Bogo, Cebu, Philippines, October 2, 2025. REUTERS/Eloisa Lopez
मनिला (एजेन्सी) । दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी हालसम्म कम्तीमा तीन जनाको मृत्यु भएको आधिकारिक पुष्टि भएको छ।
फिलिपिन्स प्रहरी र स्थानीय विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार भूकम्पका कारण अन्य पाँच जना गम्भीर रूपमा घाइते भएका छन्। सराङ्गानी प्रान्तको तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ७:३७ बजे गएको यो भूकम्प सन् १९९० यताकै सबैभन्दा शक्तिशाली र विध्वंशकारी भएको बताइएको छ।
भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ५५ किलोमिटर गहिराइमा रहेका कारण मिन्डानाओ टापु र वरपरका क्षेत्रहरूमा निकै ठूलो धक्का महसुस गरिएको थियो।
मुख्य भूकम्प गएको केही घण्टाभित्रै उक्त क्षेत्रमा लगातार शक्तिशाली परकम्पहरू आउने क्रम जारी रहेको छ। फिलिपिन्सको भूगर्भ विभागका अनुसार स्थानीय समय अनुसार बिहान ११:०० बजेसम्ममा मात्रै १३८ पटक परकम्पहरू रेकर्ड भइसकेका छन्।
यी परकम्पहरूको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्म मापन गरिएको छ। भूकम्पपछि आएको ६.७ म्याग्निच्युडको सबैभन्दा ठूलो परकम्पका कारण सर्वसाधारणहरूमा थप त्रास फैलिएको छ भने यसले उद्धार कार्यमा समेत ठूलो अवरोध सिर्जना गरेको छ।
लगातारको पराकम्पले गर्दा उद्धार टोलीहरूलाई भग्नावशेष भित्र पस्न र खोजी कार्य अघि बढाउन कठिनाइ भइरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रारम्भिक सरकारी सर्वेक्षण अनुसार यस भूकम्पले हालसम्म ३७ वटा ठूला भवनहरूमा गम्भीर क्षति पुर्याएको अनुमान गरिएको छ, जसमा अधिकांश व्यावसायिक संरचना, कार्यालय र शैक्षिक संस्थाहरू रहेका छन्।
सबैभन्दा बढी प्रभावित जनरल सान्तोस सहरमा रहेको चर्चित ‘जोलीबी’ फास्टफुड रेस्टुरेन्ट र लभ रेडियोको स्टुडियो सञ्चालित व्यावसायिक भवन पूर्ण रूपमा ध्वस्त भएको छ भने ड्याडियाङ्गास विश्वविद्यालय र मतानाओ नेशनल हाई स्कूलका भवनहरूमा पनि ठूलो क्षति पुगेको छ।
क्षतिग्रस्त भवनका भग्नावशेषहरू भित्र केही मानिसहरू फसिरहेको आशंकामा क्रेन तथा आधुनिक उद्धार उपकरणहरूको प्रयोग गरी खोजी कार्यलाई तीव्रता दिइएको छ। भूकम्प प्रभावित क्षेत्रहरूमा विद्युत् आपूर्ति, खानेपानी र इन्टरनेट लगायतका सञ्चार सेवा पूर्ण रूपमा ठप्प भएका छन्।
भूकम्प समुद्री क्षेत्र नजिकै गएका कारण फिलिपिन्स र इन्डोनेसियाका तटीय क्षेत्रहरूमा सुनामीको उच्च जोखिम बढेको छ। फिलिपिन्सको सुल्तान कुदरात र सराङ्गानी प्रान्तका तटहरूमा १ मिटर (३ फिट) सम्मका सुनामीका छालहरू देखिइसकेका छन् भने केही स्थानमा ३ मिटरसम्म अग्लो छाल आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले राष्ट्रका नाममा आकस्मिक सन्देश जारी गर्दै तटीय क्षेत्रका नागरिकलाई आफ्नो सामानको माया मारेर तत्काल सुरक्षित र उच्च स्थानमा जान कडा निर्देशन दिएका छन्।
राष्ट्रपतिको आदेशानुसार मिन्डानाओ क्षेत्रका सम्पूर्ण विद्यालय तथा कलेजहरूको पठनपाठन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ भने सेना र विपद् व्यवस्थापनका सम्पूर्ण निकायहरूलाई उद्धार र राहत वितरणमा केन्द्रित हुन निर्देशन दिइएको छ।







डिसी नेपाल







Facebook Comment