चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका क्रममा उत्तर कोरियामा
काठमाडौं। चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङ दुई दिने राजकीय भ्रमणका क्रममा उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन्।
लामो अन्तराल अर्थात् सात वर्षपछि उत्तर कोरियाको ऐतिहासिक भ्रमणमा पुगेका राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई स्वागत गर्न उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जु आफैँ विमानस्थलमा उपस्थित भएका थिए।
विमानस्थलमै चिनियाँ विशिष्ट अतिथिहरूलाई विशेष र आत्मीय स्वागत प्रदान गरिएको थियो।
यस भ्रमणलाई दुवै देशले निकै महत्त्वका साथ हेरेको भन्दै नेता किमले प्योङयाङस्थित ऐतिहासिक किम इल सुङ स्क्वायरमा राष्ट्रपति सीको सम्मानमा एक अत्यन्तै भव्य स्वागत समारोहको आयोजना गरेका थिए।
सो अवसरमा चिनियाँ राष्ट्रपति सीलाई २१ तोपको सलामी दिनुका साथै सैन्य ब्यान्डले दुवै देशको राष्ट्रिय धुन बजाएर उच्च राजकीय सम्मान प्रकट गरेको थियो।
त्यस विशेष समारोहका क्रममा चिनियाँ राष्ट्रपति सीले नेता किमसँगै कोरियाली जनसेनाको तीनवटै सेवा (जल, थल र वायु) को ‘गार्ड अफ अनर’ को भव्य निरीक्षण गरेका थिए।
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि प्योङयाङका सडकहरूमा सर्वसाधारणका साथै ठूलो संख्यामा बालबालिका र किशोरकिशोरीहरू हातमा चीन र उत्तर कोरियाको झण्डा, रङ्गीचङ्गी फूल र बेलुनहरू बोकेर निकै उत्साहका साथ उत्रिएका थिए।
दुई कम्युनिस्ट राष्ट्र प्रमुखहरूबीचको यो भेटघाट र मैत्रीपूर्ण भ्रमणले मध्यपूर्वी एसियाको भू-राजनीति र आपसी सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।







डिसी नेपाल







Facebook Comment