रास्वपाको महाधिवेशन : ५६ जिल्लामा अधिवेशन सम्पन्न, आजदेखि प्रदेश अधिवेशन सुरु हुँदै

डिसी नेपाल
२६ जेठ २०८३ ६:३३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आगामी प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन अन्तर्गत हालसम्म ५६ जिल्लामा कार्य सम्पन्न गरेको छ। देशभरका ७७ जिल्लामध्ये बाँकी रहेका १२ जिल्लामा विविध प्राविधिक कारणवश रोकिएको निर्वाचन प्रक्रियालाई पुनः अगाडि बढाउने तयारी भइरहेको पार्टीले जनाएको छ।

रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीका अनुसार ती १२ जिल्लामा हाल निर्वाचन प्रक्रिया जारी छ भने एक जिल्लामा अधिवेशन स्थगित र पाँच जिल्लामा अझै अधिवेशन सुरु हुन बाँकी रहेको छ। महाधिवेशनको गृहकार्यका लागि पार्टीले जेठ २३ गतेदेखि देशव्यापी रूपमा जिल्ला अधिवेशन सुरु गरेको थियो, जसको निरन्तरता स्वरूप केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिएलगत्तै मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशनको औपचारिक सुरुवात हुँदैछ।

पार्टीका प्रवक्ता मनीष झाले हालसम्म सम्पन्न भएका ५६ जिल्ला अधिवेशनबाट अधिकांश स्थानमा नयाँ नेतृत्व सर्वसम्मत वा लोकतान्त्रिक पद्धतिबाट चयन भइसकेको जानकारी दिएका छन्।

केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको र विशेष गरी मधेश प्रदेशका अधिकांश जिल्लामा नेतृत्व चयनका लागि मतदान प्रक्रिया चलिरहेको उनले बताए। भौगोलिक रूपमा हेर्दा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गामा अधिवेशन सम्पन्न भइसकेको छ भने उदयपुरमा निर्वाचन प्रक्रिया जारी रहेको छ।

मधेश प्रदेशका महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाहीमा नयाँ नेतृत्व आइसकेको छ भने धनुषा र सप्तरी तथा बारामा निर्वाचन र मतदानको कार्यतालिका तय गरिएको छ। बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, दोलखा, सिन्धुली, धादिङ, रामेछाप, चितवन, रसुवा र ललितपुरमा अधिवेशन सकिएको छ भने सिन्धुपाल्चोकको अधिवेशन भने विशेष कारणवश हाललाई स्थगित गरिएको छ।

गण्डकी प्रदेशका अधिकांश हिमाली र पहाडी जिल्लामा अधिवेशन सकिए पनि बाग्लुङ र नवलपुरमा भने निर्वाचन प्रक्रिया सुरु हुन बाँकी छ। लुम्बिनी प्रदेश यस मामिलामा सबैभन्दा अगाडि देखिएको छ, जहाँका गुल्मी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र रुपन्देहीलगायत सबै जिल्लामा अधिवेशन सकिएर लुम्बिनी शतप्रतिशत अधिवेशन सम्पन्न गर्ने पहिलो प्रदेश बनेको छ।

कर्णाली प्रदेशका कालिकोट, सल्यान, रुकुम पश्चिम, मुगु र जुम्लामा अधिवेशन सम्पन्न भइसकेको अवस्थामा सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन प्रक्रिया जारी छ भने डोल्पा, हुम्ला र रुकुम पूर्वमा कार्यतालिका सुरु हुन बाँकी छ।

सुदूरपश्चिम प्रदेशका बैतडी, डडेलधुरा, अछाम, दार्चुला, कैलाली र कञ्चनपुरमा नेतृत्व चयन भइसकेको छ भने डोटी र बाजुरामा प्राविधिक कारणले पुनः निर्वाचन हुने भएको छ। हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने भौगोलिक र विविध अनुकूलता नमिल्दा हालसम्म जिल्ला अधिवेशन सुरु हुन सकेको छैन।

यसअघि नै वडा र पालिका तहको अधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको रास्वपाले जिल्ला अधिवेशनमार्फत आफ्नो संगठनात्मक संरचनालाई तल्लो तहदेखि नै थप सुदृढ र संस्थागत बनाउने अभियानलाई तीव्रता दिएको हो।

पार्टी नेतृत्वले तल्लो तहबाट प्रत्यक्ष नेतृत्व चयन गर्ने प्रक्रियालाई लोकतान्त्रिक अभ्यासको बलियो जग मानेको छ, जसमा आम कार्यकर्ताको सहभागिता उत्साहजनक देखिएको छ।

रास्वपाले आफ्नो यस पहिलो  राष्ट्रिय महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरण र मुलुकको वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुने महत्त्वपूर्ण कडीका रूपमा लिएको छ, जसको मुख्य महाधिवेशन आगामी असार ६ र ७ गते चितवनमा आयोजना हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *