रास्वपा पर्साको सभापतिमा सांसद हरि पन्त निर्वाचित, पदाधिकारीसहित पूरै प्यानल विजयी

डिसी नेपाल
२६ जेठ २०८३ १०:४८

वीरगन्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) निर्वाचित भएका छन्।

नयाँ नेतृत्व चयनका लागि भएको प्रतिस्पर्धामा पन्तको प्यानलले सबै प्रमुख पदहरूमा सानदार जित हासिल गर्दै संगठनमा आफ्नो स्पष्ट वर्चस्व कायम गरेको हो।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार पर्सा क्षेत्र नम्बर १ का सांसद समेत रहेका पन्तले १६६ मत प्राप्त गरेर विजयी बनेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एवं क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले ११८ मत मात्र प्राप्त गरेपछि पन्त ४८ मतको फराकिलो अन्तरले विजयी हुन सफल भए।

यस निर्वाचनमा सांसद कानुको पक्षमा क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसिया, क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्य र नेता सुधिर पटेलको बलियो मोर्चाबन्दी रहेको थियो। तर, पार्टीका पुराना नेतृत्व र निष्ठावान कार्यकर्ताहरूको बलियो साथ पाएका पन्तले उक्त बहुपक्षीय गठबन्धनलाई पूर्ण रूपमा असफल पारिदिएका छन्।

पन्त समूहको लहरले कार्यसमितिका अन्य प्रमुख पदाधिकारी पदहरूमा पनि क्लिन स्वीप गरेको छ। जसअनुसार उपसभापतिमा पन्त समूहका दिलीपकुमार कुर्मी १६२ मत, सचिवमा सुदिशकुमार प्रजापति १६० मत र सहसचिवमा कृष्णा पासवान १४९ मतसहित विजयी भएका छन्।

त्यस्तै सदस्य पदतर्फ तुलसा पौडेल अधिकारी १६० मतका साथ सर्वाधिक लोकप्रिय उम्मेदवार बन्दै निर्वाचित भइन् भने अन्य सदस्यहरूमा प्रियङ्का कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी विजयी भएका छन्।

यस परिणामसँगै रास्वपा पर्साको नेतृत्वमा संस्थापन पक्षको पूर्ण वर्चस्व स्थापित भएको छ। जिल्लाका तीन जना सांसदहरू एकातर्फ र पुराना कार्यकर्तासहितका हरि पन्त अर्कोतर्फ भई प्यानलसहित भएको यो भिडन्तको नतिजाले पर्सामा पन्त समूहको सांगठनिक पकड र जनमत अझ कसिलो र बलियो बनेको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *