कविता : को ठूलो को सानु
को ठूलो हुन् को सानु हुन्, विश्वमा सब एक हुन्
विश्वलाई बनाउने र निर्माण गर्नेमा सब एक हुन्।
सबै सुख-दुःखका साथी, सबै मानिसरुपी फूल हुन्
कुन हो राजा कुन हो प्रजा, सबै कर्मका भागी हुन्।
जीवनको यो एक यात्रा, सबैजना यात्री हुन्
कुन हो धनी कुन हो गरिब, सबै एकै त हुन्।
यो जीवनको खेलमा, सबैजना खेलाडी हुन्
कुन हो विजेता कुन हो पराजित, सबै एक हुन्।
जीवन एक सपना हो, सबैजना सपनाद्रष्टा हुन्
कुन हो सफल कुन हो असफल, सबैजना एक हुन्।
जीवन एक पुस्तक हो, सबैजना पृष्ठ हुन्
कुन हो लेखक कुन हो पाठक, सबैजना एक हुन्।
जीवन एक सङ्गीत हो, सबैजना सुर हुन्
को गायक को वादक, सबैजना एक हुन्।
सानोमा सानो दाँज्दा, त्यो ठुलो हुने नै भयो
ठुलोमा ठुलो दाँज्दा, त्यो सानो हुने नै भयो।
मुसाभन्दा ठुलो हात्ती, त्यो बुढोमा मुसासरी
कमिलाभन्दा ठुलो मुसा, त्यो बुढोमा कमिलासरी।
हिजो सानो भई हिँड्ने, त्यो ठुलो आज किन बन्दछ?
हिजो ठुलो भनी हिँड्ने, सडकमा किन आउँदछ?
ईश्वरको सृष्टिमा मानिस, सब एकसमान हुन्
नगरे घमण्ड हे मानिसहरू हो, आत्मा सब एक हुन्।
कर्मको रूपमा नै मानिस, ठुलो सानु बन्दछ
वचन र व्यवहारले नै ठुलो सानु कहलाउँदछ।
अन्त्यमा विचार हो ठुलो, व्यवहारले देखाउँछ
मिठो नरम बोली बोल्ने, त्यो सर्वत्र झलमलाउँछ।
संसारमा कोही छैन सानो, ठुलो जुनै पनि
हेरेर सब ल्याउँदा, सबै समान छन् कुनै पनि।
अपेक्षा
जन्मेपछि कसलाई ठुलो बन्ने अपेक्षा हुँदैन र?
अनि कसलाई धनी बन्ने अपेक्षा हुँदैन र?
कसलाई राम्रो र मिठो खान मन हुँदैन र?
कसलाई राम्रो-राम्रो घरमा बस्न मन हुँदैन र?
तर के यी सबै अपेक्षा सबैको पुगेको छ र?
कल्पना गरी हेर, नपुग्ने कुरा के छ र?
सुती सपना हेर, नपुग्ने कुरा कहाँ छ र?
अपेक्षा सबको हुन्छ, सबै पुगेको कहाँ छ र?
इच्छा मनको धारा, खुलिरहन्छ निरन्तर
हजार इच्छा भए पनि, सबै पुरा हुने कहाँ छ र!
कल्पना गर सधैँ मनमा, योग्य बन्ने सधैँ गर
नराख क्लेश मनमा, असल बन्ने सधैँ गर।
पानीजस्तै बगी हेर, विजय छ तिम्रो सधैँभरि
त्यागी पनि बनी हेर, पुग्छ अपेक्षा यो मनभरि।
मौनता मनमा बोकी हिँड्नु आफ्नो स्वकर्ममा
तिम्रो सोचले सिक्छन् अरूले पनि स्वधर्ममा।
अपेक्षा मनमा धेरै नराख्नु, हलुका हुनुछ भने
राख्नु यो जीवनमा थोरै, सबै थोक पूरा हुने।
इच्छा मनको ठुलो सानो हुँदैन कुनै पनि
जन्मी मर्ने सबै इच्छा, ठुलो हुँदैन जुनै पनि।
छोटो जीवन छ प्राणीको संसारमा सधैँभरि
पुरा हुँदैन सबै इच्छा नमरुन्जेल सधैँभरि।
मनमा सयौँ-करोडौँ इच्छा, जाँतोसरी घुम्दछ
हजार इच्छामा एक अपेक्षा, फूलसरी फुल्दछ।
त्यसकै नै सधैँ पछि लाग, पूरा नबनुन्जेल
हातमा जे मिल्दछ, त्यही नै लेऊ बाचुन्जेल।
नराख अरू केही अपेक्षा, बीज फुट्दैन कुनै पनि
फूलका कोपिलाहरू, सबै फुल्दैनन् जुनै पनि।
त्यसरी नै सबै अपेक्षाहरू मनमा फुरेका
फुल्दैनन् सबै इच्छा, मनमा सब उठेका।
फुल्दैनन् सबै इच्छा, मनमा सब उठेका।।
अस्ताएको नेपाल अधिराज्य
नेपाल अधिराज्य, तिमी हाम्रो गौरव हौ
हिमालको कुनामा तिमी एक्लै छौ।
शाह राजाहरूको शासनमा अधीन थियौ
नेपाली जनताको हृदयमा स्मरणीय थियौ।
तिम्रो इतिहास र वीरता विश्वले चिनेको छ
तिम्रो संस्कृति सनातनीले विश्व निहुरेको छ।
तिम्रो हरेक गीत नेपालीमै गाउने रहर छ
नेपाली भेषभूषामै रमीरहने हाम्रो कबुल छ।
तिमी हिमालको कुनामा हिमगिरीमुनि बस्छौ
तिम्रो सौन्दर्यले गुराँसका फूल झलमल फुल्छन्।
नेपाली भूमिका मैदानमा तिमी नाची हिँड्छौ
तिमी एकता, शान्ति र प्रकृतिको पूजक हौ।
तिम्रो अस्त होइन, केवल परिवर्तन मात्र हो
विकास र निर्माणमा तिमी कुरिरहेका छौ।
तिमी एकता र शान्तिको एक प्रतीक हौ
तिमी नेपालको एक गौरवशाली नाम हौ।
तिमी नेपालको गौरवशाली नाम हौ।।
जाडोको मौसम
हुस्सु टम्म थियो बिहानीपखमा मान्छे नदेख्ने गरी
जाडो थरथर काँप्ने थियो घरमा पानी खन्याए सरी। १
पुस-माघको जाडोमा मान्छे कोठाभित्र लुकेसरी
कोही सिरकभित्र बसेका छन् मानिस नचिन्ने गरी। २
कोही लुगलुग काँपी सडकमा हिँड्छन् बोली नफुट्ने गरी
कोही बाक्ला लुगा लगाई हिँड्छन् जीवै नथाम्ने गरी। ३
कोही दूध लिई पसलमा, तरकारी सबथोकहरू लिई
कोही सडकमा उभिरही एकछिन गफगाफ गरी। ४
जसै हुस्सु हट्दै जान्छ, चियापानले पछ्याउँछ
सबैजना एकै ठाउँमा बसी पिउने चियाको पालो आउँछ। ५
बिस्तारै झुल्किँदो घामहरू कौसीमा पर्न आउँछन्
हरेक बुढा आमा र छोरी घाम ताप्न आउँछन्। ६
रूखमा छैन केही पात, सुक्खा देखिन्छन् सबैतिर
चिसोले सब निहुरेका छन्, सबै हेर्छन् सूर्यतिर। ७
जाडो नेपालको हेर, हिउँका मूर्ति उत्तरतिर
त्योभन्दा उता हेर, ल्हासा देखिन्छ झन् पर। ८
सूर्य-चन्द्रमाको न्यानो, सुन्दर धर्तीको घर
कहिलेही नबिर्सने जाडो, कति लामो हुन्छ र! ९
संसार बिर्सने देश नेपाल हाम्रो घर
विदेशीले प्रशंसा गर्ने, यो हाम्रो बस्ने घर। १०
चिसो जाडोमा बस्ने बानी हाम्रो परिसक्यो
गर्मी तर न्यानोमा बस्ने जिउ यो भइसक्यो। ११
पुस-माघको जाडो हो, अरू बेला छ सुन्दर
नेपाली आकाशमा यो भइरहन्छ निरन्तर। १२
नटुटोस् जाडोको मौसम, आइरहोस् सधैँभरि
सेता हिमाल उत्तरमा झुल्किरहोस् अजम्बरी।
सेता हिमाल उत्तरमा झुल्किरहोस् अजम्बरी।। १३















Facebook Comment