अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालको घोषणा: आगामी दशक ‘आन्तरिक रोजगारी प्रवर्द्धन’ को वर्ष बन्ने
काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ११४ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै नेपालले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्द्धनको दशकका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले नेपाल सरकारले मर्यादित आप्रवासन, डिजिटल अर्थतन्त्रमा श्रमिकको पूर्ण संरक्षण र श्रमिक अधिकारको सुनिश्चिततालाई आफ्नो मुख्य प्राथमिकतामा राखेको स्पष्ट पारे।
सम्बोधनका क्रममा मन्त्री यादवले पछिल्लो समय विकसित हुँदै गएको डिजिटल तथा गिग अर्थतन्त्रमा कार्यरत श्रमिकहरूको हकहितका विषयमा विशेष जोड दिए। यस्ता क्षेत्रमा आबद्ध श्रमिकहरूको अधिकार रक्षाका लागि स्पष्ट सम्झौता, व्यावसायिक सुरक्षा, एल्गोरिद्मिक निष्पक्षता र डेटा गोपनीयता अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो।
श्रमिकको सामाजिक सुरक्षा र अधिकारलाई अझ सुदृढ बनाउन नेपाल सरकारले पहिलोपटक एकीकृत राष्ट्रिय ‘केयर इकोनोमी’ (हेरचाह अर्थतन्त्र) नीति निर्माण गरिरहेको जानकारी पनि उनले दिए।
यसका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिबद्धता जनाइएको जबरजस्ती श्रमसम्बन्धी प्रोटोकल अनुमोदनका लागि नेपालको संसद्मा पेश भइसकेको जानकारी दिँदै मन्त्री यादवले नेपाल श्रमिक अधिकार र सुरक्षित तथा मर्यादित रोजगारीको वातावरण निर्माण गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरा विश्वमञ्चमा दोहोर्याए।







डिसी नेपाल







Facebook Comment