३२ तलाको भवन, ३४ औं तलाको फ्ल्याट महंगोमा बेचिदिएपछि…

डिसी नेपाल
२६ जेठ २०८३ १२:१४

काठमाडौं । ३२ तलाको भवनमा ३४औँ तलाको फ्ल्याट (फ्ल्याट नम्बर ३४०४) किनेर एक व्यक्ति नराम्ररी ठगिएका छन् । चीनको शान्शी प्रान्तमा घटेको यो अनौठो र निकै चर्चामा रहेको घटनामा ‘शेन’ नाम गरेका एक नागरिकले सस्तो मूल्यको प्रलोभनमा पर्दा आफ्नो जीवनभरको कमाइ गुमाउनु परेको छ ।

बिल्डरले कागजमा देखाएको ३४औँ तला वास्तवमा भवनमै नभएको रहस्य वर्षौँपछि मात्र खुल्न आएको हो, जसले गर्दा अहिले ती क्रेता न त घर, न त पैसाको स्थितिमा पुगेका छन् । यो घटनाको सुरुवात सन् २०१३ मा भएको थियो, जब शेनले एउटा नयाँ हाउजिङ प्रोजेक्टमा ९० वर्ग मिटरको एउटा फ्ल्याट बुक गरेका थिए ।

उक्त प्रोजेक्ट ग्रामीण क्षेत्रको जग्गामा ‘लिमिटेड प्रपर्टी राइट्स’ (कमजोर कानुनी हैसियत तर सस्तो मूल्य हुने व्यवस्था) अन्तर्गत बनिरहेकाले आसपासका अन्य घरभन्दा निकै सस्तो थियो । सस्तो मूल्यमा नयाँ घर पाइने आशमा शेनले बिल्डरलाई विश्वास गरेर झण्डै १ लाख १७ हजार युआन (करिब २६ लाख नेपाली रुपैयाँ) डाउन पेमेन्ट समेत बुझाएका थिए ।

सम्झौता अनुसार सन् २०१५ मा नै घर पाउनुपर्ने भए तापनि निर्माण कार्यमा निकै ढिलाइ भएको थियो । सन् २०१७ मा आएर बिल्डरले भवन निर्माण सम्पन्न भएको र बाँकी रकम बुझाएर फ्ल्याटको साँचो लिन शेनलाई आग्रह गर्‍यो । तर जब शेन आफ्नो नयाँ घर हेर्न र साँचो लिन प्रोजेक्ट स्थलमा पुगे, तब उनी छाँगाबाट खसेजस्तै भए ।

उनले जुन भवनमा ३४औँ तलाको फ्ल्याट किनेका थिए, त्यो भवन वास्तवमा जम्मा ३२ तलाको मात्र बनेको थियो । बिल्डरले उनलाई सुरुमा आश्वासन दिँदै ३२औँ तलामा अर्को विकल्प दिने बताए तापनि पछि त्यो फ्ल्याट पनि अर्कै व्यक्तिलाई महँगोमा बेचिसकेको खुलासा भयो ।

आफू ठगिएको थाहा पाएपछि शेनले आफ्नो पैसा फिर्ता पाउनका लागि लामो समयसम्म बिल्डरको चक्कर काटे । बिल्डरले धेरै वर्षको अन्तरालमा केही रकम (करिब ७० हजार युआन) किस्ता-किस्तामा फिर्ता गरे तापनि बाँकी रकम दिन आनाकानी गर्दै अन्ततः फोन उठाउन र सम्पर्कमा आउनै छाडिदियो ।

त्यसपछि यो विषय अदालतसम्म पुग्यो । अदालतले बिल्डरलाई दोषी ठहर गर्दै बाँकी रहेको रकम ब्याजसहित तुरुन्त फिर्ता गर्न आदेश दियो, तर चिनियाँ अधिकारीहरूका अनुसार ठग बिल्डरको बैंक खातामा कुनै रकम बाँकी नभएको र उसको नाममा कुनै सम्पत्ति समेत नदेखिएकाले शेनले अझै पनि आफ्नो बाँकी पैसा फिर्ता पाउन सकेका छैनन् ।

सस्तोको चक्करमा परेर अस्तित्वमै नभएको घर किन्दा शेनले विगत १३ वर्षदेखि कानुनी लडाइँ र ठूलो मानसिक तनाव मात्र झेलिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *