मन्त्रिपरिषद् बैठक

चार जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति, रेडक्रसमा नयाँ तदर्थ समिति गठन

डिसी नेपाल
२६ जेठ २०८३ १२:५२

काठमाडौं। सरकारले देशका विभिन्न चारवटा ठूला जलविद्युत आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो। यो निर्णयसँगै ती जलविद्युत आयोजनाहरूको निर्माण कार्य अघि बढाउन सहज हुने विश्वास गरिएको छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ लाई औपचारिक रूपमा स्वीकृत गरेको छ। नियमावलीको यस संशोधनसँगै निजामती सेवाको प्रशासनिक कार्यसम्पादन र कर्मचारी व्यवस्थापनमा थप मद्दत पुग्ने सरकारको अपेक्षा छ।

बैठकले लामो समयदेखि अन्योलमा रहेको नेपाल रेडक्रस सोसाइटीको सञ्चालनका लागि दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ तदर्थ समिति गठन गर्ने निर्णय समेत गरेको छ।

मन्त्रिपरिषद् बैठकले यसअघि विवादमा परेपछि राजीनामा दिनुभएका पूर्व गृह मन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित उच्च स्तरीय समितिले पेस गरेको विस्तृत प्रतिवेदनलाई औपचारिक रूपमा ग्रहण गर्ने निर्णय गरेको छ।

सो प्रतिवेदन ग्रहण गरेसँगै सरकारले यस विषयमा आवश्यक थप प्रक्रिया अघि बढाउने बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *