सिंहदरबारमा विपक्षी दलको बैठक सुरु, संसद्को गतिरोध र आगामी रणनीतिबारे छलफल हुँदै
काठमाडौं । संसद्मा देखिएको राजनीतिक गतिरोध र आगामी रणनीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलले आह्वान गरेको विपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ। मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलका प्रमुख नेताहरूको उपस्थितिमा बैठक सुरु भएको हो।
आजै प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले गरेको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले संसद् बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए। संसद् स्थगित भएलगत्तै नेपाली कांग्रेसले संसद्मा प्रतिपक्षी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा साझा धारणा तय गर्न यो आकस्मिक बैठक बोलाएको हो।
बैठकमा विभिन्न विपक्षी दलका शीर्ष नेता तथा सचेतकहरूको सहभागिता रहेको छ। बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा र सचेतक निश्कल राई सहभागी छन्।
त्यसैगरी नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, दलकी उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महरको उपस्थिति रहेको छ। बैठकमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट खुश्बु ओलीसहितका नेताहरू सहभागी भएर छलफल गरिरहेका छन्।
बुधबार पुनः बस्ने प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले कसरी प्रस्तुत हुने र सरकारलाई जनसरोकारका मुद्दामा कसरी दबाब दिने भन्नेबारे यो बैठकले साझा रणनीति तय गर्ने बताइएको छ।







डिसी नेपाल







Facebook Comment