वर्तमान संकटको मुख्य कडी प्रधानमन्त्रीको कार्यशैली, गल्ती सच्याउन एमालेको माग

डिसी नेपाल
२७ जेठ २०८३ १७:११

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका कारण देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फसेको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता थापाले वर्तमान राजनीतिक संकटका लागि प्रधानमन्त्रीको अभिव्यक्ति र त्यसपछिका कूटनीतिक गतिविधिहरू जिम्मेवार रहेको दाबी गरे। उनले संकटको मुख्य स्रोत प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्याल रहेको जिकिर गरे।

नेता थापाले जेठ १७ गते संसदको रोष्ट्रमबाट प्रधानमन्त्री शाहले ‘नेपालले भारतको जग्गा मिचेको’ भनी दिएको अभिव्यक्तिबाटै संकटको सुरुवात भएको बताए। उनले भने, ‘यो घोषणा रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमणको ठीक अघिल्लो दिन आकस्मिक रूपमा आएको थियो। त्यसपछि दिल्लीमा गएर सभापति लामिछानेले ‘विगतका बोझ लिएर अगाडि बढ्न चाहँदैनौँ’ भनी दिएको अभिव्यक्तिले राष्ट्रिय अडानलाई कमजोर बनाएको छ।’

थापाले विगतका घटनाक्रमलाई जोड्दै प्रधानमन्त्री बन्नका लागि विदेशी दूतावासको अनुमति लिनुपर्ने प्रवृत्ति हाबी भएको आरोप लगाए। रास्वपाका तत्कालीन महासचिव मुकुल ढकालले गरेका खुलासाहरूको स्मरण गर्दै उनले भने, ‘कुनै शीर्ष नेताले प्रधानमन्त्री हुनका लागि जस्तोसुकै सम्झौता गर्न तयार रहेको सन्देश भारतसम्म पुर्‍याइदिन आग्रह गर्नु र त्यसपछि आएको पछिल्लो अभिव्यक्तिले संकटको स्रोत प्रष्ट पारेको छ।’

सदनमा उठेको यो गम्भीर विषयमा परराष्ट्रमन्त्रीको जवाफ पर्याप्त नहुने बताउँदै नेता थापाले प्रधानमन्त्रीले नै सदनमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने माग राखेका छन्। उनले भने, ‘सदनको संकट प्रधानमन्त्रीकै अभिव्यक्तिको कारण आएको हो, त्यसैले जवाफ पनि उनले नै दिनुपर्छ। जबसम्म यो संकट समाधान हुँदैन, तबसम्म देशको गरिमाका लागि हाम्रो संघर्ष जारी रहन्छ।’


No ads found for this position

प्रतिक्रिया

One thought on “वर्तमान संकटको मुख्य कडी प्रधानमन्त्रीको कार्यशैली, गल्ती सच्याउन एमालेको माग

  1. Timi haru jasta aukat sakiyeka party haru le PM jiu lai sikaunu pardaina, timra yei habigat le garda nai desh dubayeu ajha buddi palayeko chhaina,chunab jitera bahumat lyayeko vaye ajha samma baja gaja sahit bijaya ryali manaudai huntheu, ahileko sarkar ko kam hera ani tali marda hunchha timi lootera haru

Leave a Reply

Your email address will not be published. Required fields are marked *