सशस्त्र प्रहरीमा बढ्दो गुटबन्दी र क्षेत्रीयताको बहस: आइजीपी पौडेलमाथि गम्भीर आरोप

डिसी नेपाल
२९ जेठ २०८३ १०:४३

काठमाडाैं। सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तन भएसँगै संगठनभित्रका पुराना विकृति र गुनासाहरू क्रमशः घट्दै जाने जनअपेक्षाविपरीत झन् झाँगिन थालेका छन्।

संगठनमा कुनै पनि प्रकारको गुटबन्दीलाई प्रश्रय नदिने र सबै सदस्यहरूलाई समान दृष्टिकोणले हेर्ने सार्वजनिक प्रतिबद्धता जनाउँदै आएका नवनियुक्त आइजीपी नारायणदत्त पौडेल नै यतिबेला गुटबन्दी र क्षेत्रीयताको विवादमा तानिएका छन्।

नेतृत्व सम्हालेको एक महिना पनि नपुग्दै महानिरीक्षक पौडेलले आफ्नै बोलीविपरीत संगठनभित्र गुटबन्दी र पक्षपातको बीजारोपण गरेको भन्दै तल्लो तहदेखि माथिल्लो तहका कर्मचारीहरूमा तीव्र असन्तोष चुलिएको छ।

आइजीपीको यस्तो कदमलाई संगठनका आम कर्मचारीहरूले सहजै स्वीकार नगर्ने र यसको आन्तरिक प्रतिवाद गर्ने तयारी समेत थालेका छन्। सुर्खेत स्थायी घर भएका आइजीपी पौडेलले हालै गरेका सरुवा, बढुवा र पदस्थापनका निर्णयहरूमा आफ्नै क्षेत्रका कनिष्ठ तथा विवादित अधिकृतहरूलाई काखा र अन्यलाई पाखा गरेर खुलेआम क्षेत्रीयतावाद प्रदर्शन गरेको गम्भीर आरोप लागेको छ।

प्रशासनिक शक्तिको दुरुपयोग गर्दै आइजीपी पौडेलले कर्मचारी प्रशासनको महत्त्वपूर्ण जिम्मेवारीमा आफ्नै स्टाफ अधिकृत सन्तोष सिंहलाई नियुक्त गरेका छन् भने अर्को आकर्षक एवं आर्थिक चलखेल हुने अड्डाका रूपमा चिनिएको सवारी शाखामा दाङ घर भएका एसपी विमल डाँगीलाई भित्र्याएका छन्।

नेपाल प्रहरीको प्राविधिक सइ ओभरसियर पदबाट सेवा प्रवेश गरेका डाँगी संगठनभित्र निकै बदनाम र विवादित अधिकृतका रूपमा चिनिन्छन्, जसलाई विगतका आइजीपीहरूले त्रुटिपूर्ण आचरणका कारण कारबाही समेत गरेका थिए।

अचम्मको कुरा त के छ भने, उनले सवारी शाखाको जिम्मेवारी सम्हालेलगत्तै उक्त शाखामा शंकास्पद रूपमा आगलागी हुँदा दर्जनौं सरकारी गाडीहरू जलेर नष्ट भएका छन्, जसले थप आशंका जन्माएको छ।

यसैगरी, आर्थिक चलखेलकै दृष्टिकोणले संवेदनशील मानिने भर्ना छनौट शाखामा बर्दिया घर भएका एसपी दमन पाण्डेलाई जिम्मेवारी सुम्पिएको छ। विगतमा भर्ना प्रक्रियामा व्यापक बदमासी हुने गरेका कारण अघिल्ला महानिरीक्षकहरूले यस शाखामा संगठनका काबिल र निष्कलंक अधिकृतहरूलाई मात्र पठाउने परिपाटी बसालेका थिए, जसलाई वर्तमान नेतृत्वले लत्याएको देखिन्छ।

त्यति मात्र नभएर, केही दिनअघि भएको एसएसपीहरूको पदस्थापनमा पनि सुर्खेतकै रैथाने एसएसपी दीपक थापालाई अर्को आकर्षक अड्डा मानिने प्रबन्ध महाशाखाको जिम्मेवारी सुम्पिएको छ।

हलचोकस्थित कार्यदल गणमा डीएसपी रहँदा थापाले गणपति (एसपी) केही दिनका लागि बिदामा बसेको मौका छोपी रासन वितरणमा व्यापक बदमासी र भ्रष्टाचार गरेका थिए। उक्त घटना सार्वजनिक भएपछि तत्कालीन गणपति किशोर श्रेष्ठले थापालाई तत्कालै कारबाहीको सिफारिस गर्दै बाँकेको तालिम केन्द्रमा लखेटेका थिए।

कार्यदल गणको सो काण्डलाई नजिकबाट नियालेका एक अधिकृतका अनुसार थापाको विगतको छवि निकै दागिलाे छ। त्यसैगरी, डीआईजीहरूको सरुवामा समेत दाङ घर भएका डीआईजी दीपक अधिकारीलाई सुरक्षा र रणनीतिक हिसाबले आकर्षक मानिने ५ नम्बर प्रदेशको कमान्ड सुम्पिएको छ।

वर्तमान नेतृत्वको यस्तो एकपक्षीय कार्यशैलीका कारण अब हुने अन्य सरुवा र पदस्थापनमा पनि यही क्षेत्रीयतावादी गुट हाबी हुने चर्चाले यतिबेला सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा व्यापकता पाएको छ।

आइजीपी आफैं नीति र थितिभन्दा बाहिर गएर गुटबन्दी र क्षेत्रीयताको घेरामा रमाउन थालेपछि संगठनको व्यावसायिक कार्यसम्पादन कसरी अगाडि बढ्छ भन्दै एक उच्च अधिकृतले गम्भीर प्रश्न उठाएका छन्।

काँधमा संगठनको सर्वोच्च फुली लगाएपछि आफ्नो कुनै निश्चित समूह वा टिम नहुने भन्दै मातहतका निकायलाई ब्रिफिङ गर्ने आइजीपी पौडेलको भित्री रूप भने नितान्त क्षेत्रीय स्वार्थबाट प्रेरित रहेको स्रोतको दाबी छ।

यसै सिलसिलामा, प्रदेश १ को विशेष अनुगमन गर्ने बहानामा आफ्ना अत्यन्तै निकट र विवादित छविका रूपमा परिचित एसएसपी मोहनबहादुर सिंहलाई काजमा खटाइएको छ।

पौडेलले चौतर्फी रूपमा विवादित र दाग लागेका पात्रहरूलाई मात्र आफ्नो कोर टिममा स्थान दिएर संस्थागत मूल्यमान्यता ध्वस्त पार्न खोजेको भन्दै हिजोका दिनमा उनका कट्टर समर्थक रहेकाहरूले समेत अहिले संगठनको भविष्यप्रति गहिरो चिन्ता र दुःख व्यक्त गर्न थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *