कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन, विज्ञहरूलाई जिम्मेवारी

डिसी नेपाल
२९ जेठ २०८३ १६:२८

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न नीतिगत विषयमा गहन अध्ययन र संवादका लागि पाँचवटा छुट्टाछुट्टै विषयगत उपसमिति गठन गरेको छ।

दुई दिनसम्म चलेको प्रतिष्ठानको बैठकले उपसमितिहरू गठन गर्दै तिनका संयोजकहरू चयन गरेको हो। पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी सभापति गगनकुमार थापाको विशेष उपस्थिति रहेको थियो।

बैठकले प्रतिष्ठान प्रमुख शर्माको प्रस्तावमा विभिन्न क्षेत्रका विज्ञहरूलाई उपसमिति संयोजकको जिम्मेवारी प्रदान गरेको छ। जसअनुसार नागरिकता, लगानी र मतदानको अधिकार तथा जनसम्पर्क समितिको पदीय संरचनाभन्दा बाहिरको विश्वव्यापी नेपाली समुदायसँग नीतिगत संवाद र समन्वय गर्न डा. यादव पण्डितको संयोजकत्वमा डायस्पोरा डाइलग उपसमिति गठन गरिएको छ।

त्यसैगरी स्वास्थ्य बीमा र सेवामा पहुँचबारे नीतिगत संवाद गर्न डा. अन्जनीकुमार झालाई जिम्मेवारी दिइएको छ भने घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमितिको संयोजकमा स्वीकृती पौडेल चयन भएका छन्।

सार्वजनिक यातायात र सडक सुरक्षा सचेतना उपसमितिको नेतृत्व श्रीप्रसाद भलामीले गर्नेछन् भने खेलकुद नीति संवाद उपसमितिको संयोजकको जिम्मेवारी विनोद दासलाई प्रदान गरिएको छ।

पार्टीको नीतिगत तहलाई थप व्यवस्थित, जनमुखी र प्रभावकारी बनाउने उद्देश्यले यी उपसमितिहरू गठन गरिएको हो। पछिल्लो समय बढ्दै गएका सामाजिक र प्राविधिक चुनौतीलाई सम्बोधन गर्दै पार्टीको नीति तर्जुमा प्रक्रियालाई थप सुदृढ र विज्ञमैत्री बनाउने योजनाअनुरूप उक्त निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा बैठकले गरेका यी निर्णयहरूले आगामी दिनमा पार्टीको नीतिगत कार्यदिशालाई थप स्पष्ट पार्ने उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *