गण्डकीका घरघरमा खानेपानी पुर्याउन १ अर्ब ७ करोड बजेट, ‘एक घर, एक धारा’लाई निरन्तरता
पोखरा । गण्डकी प्रदेश सरकारले ‘स्वच्छ पानी, स्वस्थ जीवन’को संकल्पसहित प्रदेशका नागरिकको घरघरमा धारा पुर्याउने लक्ष्यका साथ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले बहुवर्षीय खानेपानी आयोजनाहरू सम्पन्न गर्न १ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्याएको हो।
सोमबार प्रदेश सभामा आगामी आवको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले विगतदेखि सञ्चालनमा रहेका अधुरा आयोजनाहरूलाई तीव्रता दिँदै ‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइने बताए। मन्त्री शेरचनका अनुसार, खानेपानीको पहुँच विस्तार गर्दा सरकारी विद्यालय, स्वास्थ्य संस्था, धार्मिक तथा पर्यटकीय स्थलहरूलाई विशेष प्राथमिकतामा राखिएको छ।
प्रदेश सरकारले खानेपानी र सिँचाइका क्षेत्रमा सञ्चालित लिफ्टिङ प्रविधिका आयोजनाहरूलाई राहत दिने नीति लिएको छ। यस्ता आयोजनामा खपत हुने विद्युत् महसुलको भार कम गर्न सरकारले ४ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
गण्डकी प्रदेशको समग्र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका लागि सरकारले ४ अर्ब ७७ करोड रुपैयाँको बजेट व्यवस्था गरेको छ। साथै, आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै घरधुरीमा विद्युत् सेवाको पहुँच पुर्याई ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने सरकारको महत्त्वाकांक्षी योजना रहेको मन्त्री शेरचनले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment