कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, पश्चिम तराईमा अत्यधिक गर्मी

डिसी नेपाल
३ असार २०८३ ६:४४

काठमाडौं। हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव देखिएको छ।

यस मौसमी प्रणालीका कारण देशका हिमाली र पहाडी भूभागसहित गण्डकी र बागमती प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली भएको छ भने अन्य तराई भेगमा मौसम मुख्यतया सफा रहेको छ। अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यसैगरी, कोशी प्रदेशको तराईका थोरै स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ। पश्चिम नेपालका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा भने अत्यधिक गर्मी भई तातो दिन (लु) चल्न सक्ने देखिएको छ।

आज राति पनि देशको हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ भने अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै, कोशी प्रदेशको तराईका एक-दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *