मेस्सीको जादु चलेपछि विश्वकपका ऐतिहासिक कीर्तिमानहरू ध्वस्त
काठमाडौं । कप्तान लियोनेल मेस्सीको कीर्तिमानी ह्याट्रिकको मद्दतले साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा सानदार सुरुवात गरेको छ। बुधबार बिहान (नेपाली समय अनुसार) भएको समूह ‘जे’ को आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोल अन्तरले सहजै पराजित गर्यो।
आफ्नो ३९ औं जन्मदिन मनाउन लागेका मेस्सीले खेलको १७ औं, ६० औं र ७६ औं मिनेटमा गोल गर्दै आफ्नो खेल जीवनको पहिलो विश्वकप ह्याट्रिक पुरा गरे। यस ऐतिहासिक प्रदर्शनसँगै मेस्सीले फुटबल इतिहासका थुप्रै पुराना कीर्तिमानहरू तोडेका छन् भने केहीमा बराबरी गरेका छन्।
१. विश्वकप इतिहासमै सबैभन्दा बढी गोल :
मेस्सीले विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याउँदै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। यो कीर्तिमान जर्मनीका लिजेन्ड मिरोस्लाभ क्लोज को नाममा मात्र थियो, जसले १६ गोल गरेका थिए। मेस्सीले आज क्लोजको कीर्तिमान बराबरी गरे। यसअघि १५ गोलसहित दोस्रो स्थानमा ब्राजिलका रोनाल्डो थिए ।
२. ६ वटा विश्वकप खेल्ने विश्वकै पहिलो पुरुष खेलाडी :
मेस्सी पुरुष फुटबल इतिहासमा ६ वटा फरक-फरक विश्वकप (२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६) खेल्ने इतिहासकै पहिलो खेलाडी बनेका छन्। यसअघि एन्टोनियो कार्बाजल, लोथर माथाउस, क्रिस्टियानो रोनाल्डो लगायतका खेलाडीले ५ वटा विश्वकप खेलेका थिए। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले भोलिको खेल खेलेमा उनले पनि ६ विश्वकपको रेकर्ड छुनेछन्।
३. ५ वटा फरक विश्वकपमा गोल गर्ने दोस्रो खेलाडीः
अल्जेरियाविरुद्ध गोल गरेसँगै मेस्सी ५ वटा फरक-फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै दोस्रो पुरुष खेलाडी बनेका छन्। मेस्सीले खेलेका ६ विश्वकपमध्ये २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा मात्र गोल गर्न सकेका थिएनन् । त्यसबेला अर्जेन्टिनाको प्रशिक्षक महान फुटबलर डिएगो म्याराडोना थिए र अर्जेन्टिना क्वाटरफाइनलमा जर्मनीसँग ४-० ले पराजित भएको थियो । यो कीर्तिमान सबैभन्दा पहिले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले सन् २०२२ को विश्वकपमा राखेका थिए।
४. अर्जेन्टिनाका लागि २०० औं अन्तर्राष्ट्रिय खेल:
मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट २०० औं खेल पूरा गरेका छन्। उनी दक्षिण अमेरिकी फुटबल इतिहासमा २०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बनेका छन्। यसअघि पनि अर्जेन्टिनाका लागि सबैभन्दा बढी खेल खेल्ने रेकर्ड मेस्सीकै नाममा थियो, तर २०० खेलको आँकडा छुने उनी पहिलो दक्षिण अमेरिकी हुन्।
५. विश्वकप इतिहासमा सर्वाधिक खेल :
मेस्सीले विश्वकपमा आफ्नो खेल संख्या २७ पुर्याएका छन्। अघिल्लो रेकर्ड पनि मेस्सीकै नाममा (२६ खेल) थियो, जसलाई उनले आज थप बलियो बनाए।
६. विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडी :
३८ वर्षको उमेरमा ह्याट्रिक गर्दै मेस्सी विश्वकप इतिहासमै ह्याट्रिक गर्ने सबैभन्दा जेठो खेलाडी बनेका छन्। यसअघि यो रेकर्ड पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा थियो। रोनाल्डोले सन् २०१८ को विश्वकपमा स्पेनविरुद्ध ३३ वर्ष १३० दिनको उमेरमा ह्याट्रिक गरेका थिए।
आजको खेलमा खेलको १७ औं मिनेटमा रोड्रिगो डी पलको पासलाई नियन्त्रणमा लिँदै मेस्सीले डिबक्स बाहिरबाट उत्कृष्ट कलिङ प्रहार गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। संयोगवश, मेस्सीले ठीक २० वर्षअघि आजकै दिन (१६ जुन २००६ मा) सर्बियाविरुद्ध आफ्नो पहिलो विश्वकप गोल गरेका थिए।
दोस्रो हाफको ६० औं मिनेटमा एलेक्सिस म्याक एलिस्टेरको प्रहार अल्जेरियन गोलकिपर लुका जिदानले रोक्न नसक्दा रिबाउन्ड बलमा मेस्सीले सहजै दोस्रो गोल गरे। खेलको ७६ औं मिनेटमा निको गोन्जालेजको पासमा डिबक्सको किनाराबाट मेस्सीले ट्रेडमार्क शैलीमा लो-कर्लर सट प्रहार गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र इतिहास रचे।
ह्याट्रिक पूरा गरेलगत्तै ७९ औं मिनेटमा रंगशालामा उपस्थित हजारौं दर्शकको ‘स्ट्यान्डिङ ओभेसन’ बीच मेस्सी मैदानबाट बाहिरिएका थिए। अर्जेन्टिनाले अब आफ्नो दोस्रो खेल जुन २२ मा ड्यालसमा अस्ट्रियाविरुद्ध खेल्नेछ, जहाँ मेस्सीसँग मिरोस्लाभ क्लोजको रेकर्ड तोडेर विश्वकप इतिहासकै एकल सर्वाधिक गोलकर्ता बन्ने सुनौलो अवसर हुनेछ।







डिसी नेपाल







Facebook Comment