झापामा प्रहरीको ‘स्वीप अपरेसन’: ९२ जना लागुऔषध कारोबारी र सेवनकर्ता पक्राउ
भद्रपुर (झापा)। झापामा लागुऔषधको जालो तोड्न प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९२ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र मातहतका प्रहरी एकाइहरूबाट खटिएको विशेष टोलीले सोमबार र मङ्गलबार जिल्लाका विभिन्न शंकास्पद स्थानहरूमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा लागुऔषधको धन्दामा संलग्न ९ जना मुख्य कारोबारी र ७९ पुरुष तथा ४ महिला गरी ८३ जना सेवनकर्ता रहेका छन्।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट प्लास्टिकबाहेक ३८ ग्राम ९१० मिलीग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ र तीन ग्राम ९०० मिलीग्राम गाँजा समेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार लागुऔषधसहित पक्राउ परेका मुख्य कारोबारीहरूमा दमकका २७ वर्षीय विकास भुजेल र भद्रपुरकी ३० वर्षीया सरिता राजवंशी रहेका छन्, जसको साथबाट छ ग्राम ९० मिलीग्राम खैरो हेरोइन फेला परेको छ। त्यस्तै बिर्तामोडका १८ वर्षीय देवेन्द्र विकको साथबाट एक ग्राम ४२० मिलीग्राम र ३९ वर्षीय गणेशप्रसाद ओलीको साथबाट ३०० मिलीग्राम खैरो हेरोइन बरामद भएको छ।
यसैगरी प्रतिबन्धित गाँजासहित बिर्तामोडका २६ वर्षीय चाल्स लिम्बू र ३० वर्षीय उमेश राजवंशी पक्राउ परेका छन् भने शिवसताक्षी नगरपालिका-७ चन्द्रडाँगीस्थित सुरज ढकालको कोठा खानतलासी गर्दा सबैभन्दा धेरै अर्थात् २० ग्राम ४१० मिलीग्राम खैरो हेरोइन फेला परेको छ। यसैगरी चितवन भरतपुरकी २४ वर्षीया सोनी खाती र मेचीनगर काँकरभिट्टाकी ६० वर्षीया सीता राजवंशीको साथबाट पनि १० ग्राम ७७० मिलीग्राम खैरो हेरोइन बरामद गरिएको छ।
प्रहरीले नियन्त्रणमा लिएका ९ जना मुख्य कारोबारीहरूलाई हिरासतमा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका अन्य ८३ जना सेवनकर्ताहरूको हकमा भने प्रहरीले कानुनी कारबाही भन्दा पनि सुधारको बाटो रोजेको छ।
उनीहरूलाई आवश्यक मनोपरामर्श सेवा प्रदान गरी आफ्नै अभिभावकको जिम्मा लगाउने तथा अवस्था हेरेर आवश्यकताअनुसार पुनःस्थापना केन्द्रहरूमा पठाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिएका छन्।







डिसी नेपाल







Facebook Comment