अध्ययन बिदा लिएर फरार शिक्षक/कर्मचारीलाई त्रिविको चेतावनी: १५ दिनभित्र सम्पर्कमा आउनू
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर पनि अध्ययन पूरा भएपछि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविको ‘अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समिति’ ले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
समितिले बिदा उपभोग गरेर नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक र कर्मचारीहरूलाई तुरुन्त समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ।
सूचनामा तोकिएको समयसीमा भित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित नियमानुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ। त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गराइसकिएको छ। यो प्रक्रिया शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहल र त्रिविको सक्रियतामा अघि बढाइएको हो।
विश्वविद्यालयले दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राध्यापकहरूलाई अध्ययन बिदाको विशेष सुविधा प्रदान गर्दै आएको छ। तर, केही प्राध्यापकहरूले यस सुविधाको दुरुपयोग गर्दै अध्ययन पूरा भएपछि पनि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको भनाइ छ।
त्रिविले बिदा सुविधा उपयोग गर्ने प्राध्यापकहरूले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रहन गएको रकम असुली प्रक्रियालाई निरन्तर अघि बढाइने जनाएको छ।







डिसी नेपाल







Facebook Comment