अमेरिका-इरान शान्ति वार्ताको पूर्वसन्ध्यामा इरानी तेल ट्यांकर नाकाबन्दी क्षेत्रबाट बाहिरिए

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

डिसी नेपाल
३ असार २०८३ १२:३४

तेहरान। अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम वार्ता सुरु हुन दुई दिन मात्र बाँकी रहँदा इरानी तेल ट्यांकरहरू अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिरिन थालेका छन्। यस कदमलाई विगत दुई महिनायता इरानको पहिलो कच्चा तेल निर्यातका रूपमा हेरिएको छ।

हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएको संकेत पाएसँगै मध्यपूर्वमा तनाव कम हुने अपेक्षा बढेको छ, जसको प्रत्यक्ष प्रभाव विश्व तेल बजारमा देखिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.७४ डलरमा झरेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियेट प्रतिब्यारेल ७५.८५ डलरमा कारोबार भएको छ।

यही शुक्रबारदेखि स्विट्जरल्यान्डको बर्गेनस्टक पर्वतीय रिसोर्टमा दुई देशबीच अन्तिम सम्झौताका लागि निर्णायक वार्ता सुरु हुँदैछ। ६० दिने यस वार्तामा इरानको आणविक कार्यक्रमको भविष्य र अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध हटाउने प्रक्रिया मुख्य एजेन्डाका रूपमा रहने छन्।

तेल ढुवानी अनुगमन गर्ने ‘ट्यांकरट्र्याकर’ वेबसाइटका अनुसार ‘डिओना’ र ‘हिरो-२’ नामका दुई सुपरट्याङ्करसहित तेस्रो ट्याङ्कर पनि अमेरिकी नौसैनिक नाकाबन्दी क्षेत्रबाट बाहिरिएका छन्, जसमा करिब ३८ लाख ब्यारेल कच्चा तेल रहेको छ।

सम्झौताअनुसार अमेरिकाले इरानलाई तत्काल तेल तथा इन्धन बिक्री गर्न अनुमति दिने र प्रतिबन्ध खुकुलो पार्ने व्यवस्थामा बैंकिङ, यातायात तथा बिमा सेवा समेत समेटिने अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ।

वार्ताको वातावरण बनिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, इरानका उपविदेशमन्त्री माजिद तख्त–राभान्ची र शीर्ष वार्ताकार मोहम्मद बाघेर घालीबाफले प्रारम्भिक ढाँचा सम्झौतामा विद्युतीय हस्ताक्षर गरिसकेका छन्।

कतार र पाकिस्तानको मध्यस्थतामा भएको अप्रत्यक्ष वार्तापछि इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबारदेखि नयाँ चरणको वार्ता सुरु हुने पुष्टि गर्नुभएको छ। यद्यपि, अमेरिकाभित्रै यस सम्झौताप्रति मिश्रित प्रतिक्रिया देखिएको छ।

सिनेटका बहुमत नेता जोन थुनसहित केही रिपब्लिकन सांसदहरूले ट्रम्प प्रशासनसँग सम्झौताको पूर्ण पाठ माग गरेका छन्। उता इरानको रूढिवादी पत्रिका भातान-ए इमरोजले यसलाई ‘ट्रम्पको आत्मसमर्पण दस्तावेज’ भनेर टिप्पणी गरेको छ भने इरानी विदेशमन्त्री अराघचीले विगतमा सम्झौता उल्लङ्घन भएकाले सतर्क रहनुपर्ने बताएका छन्।

सहमति प्रक्रिया अघि बढे पनि क्षेत्रीय तनाव र सैन्य द्वन्द्व अझै कायमै छ, जसलाई विश्लेषकहरूले कूटनीतिक प्रयासको ठूलो चुनौती मानेका छन्। इजरायली सेनाले दक्षिण लेबनानको मेफादुन र सुकिन क्षेत्रमा गरेको हवाई आक्रमणमा परि चार जनाको मृत्यु भएपछि इरानको केन्द्रीय सैन्य कमान्डले इजरायललाई ‘कठोर प्रतिक्रिया’ को चेतावनी दिएको छ।

यस्तै, इरानको युरेनियम संवर्धन कार्यक्रम र पश्चिमी प्रतिबन्धजस्ता जटिल विषय अझै समाधान हुन बाँकी छन्। अमेरिकी उपराष्ट्रपति भान्सले अमेरिकी करदाताको रकम इरानमा नजाने र आणविक निरीक्षकहरूलाई इरान प्रवेशको अनुमति दिइने प्रष्ट पारे पनि इरानी सञ्चारमाध्यमहरूले भने १२ अर्ब डलर बराबरको रोक्का सम्पत्ति फुकुवा हुन सक्ने दाबी गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *