अपहरणमा परेका किशोरको साहसिक जुक्ति : चिर्कटोमा ‘हेल्प’ लेखेर फ्याँकेपछि प्रहरीले गर्यो उद्धार
काठमाडौं । चितवनबाट अपहरणमा परेका एक १६ वर्षीय किशोरले आफ्नो ज्यान बचाउन अपनाएको चलाखीपूर्ण जुक्तिका कारण प्रहरीले उनको सफल उद्धार गरेको छ। अपहरणकारीको चंगुलबाट फुत्किन उनले कागजमा ‘हेल्प’ लेखेर फ्याँकेका थिए।
आइतबार अपहरण गरी काठमाडौं ल्याइएका ती किशोरलाई सोमबार काठमाडौंको नयाँबजारस्थित एक होटलबाट प्रहरीले सकुशल उद्धार गरेको हो।
घटनाको सिलसिला तब सुरु भयो, जब एक सर्वसाधारणले बाटोमा एउटा चिर्कटो फेला पारे र तत्काल प्रहरीलाई खबर गरे। उक्त कागजमा लेखिएको थियो- ‘हेल्प, मेरो नाम … गुप्ता। मेरो बाबाको नाम … गुप्ता। म नारायणघाटबाट हो। प्लिज कल पुलिस। मेरो बाबाको नम्बर ९८४५………. (किडन्याप्ड)।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार किशोरले आफूलाई राखिएको होटल नजिकैको चउरमा उक्त कागज फ्याँकेका थिए। सूचना पाउनासाथ प्रहरीले उच्च प्राथमिकताका साथ ‘रेस्क्यु अपरेसन’ चलाएको थियो।
अपहरणकारीहरूले किशोरका बुबालाई फोन गरी २२ लाख रुपैयाँ फिरौती मागिसकेका थिए। पीडित परिवारले सुरुमा प्रहरीलाई जानकारी नगराए पनि पछि प्रहरीसँग समन्वय गरेका थिए। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, होटलमा ती किशोरलाई कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिइएको थियो।
प्रहरीले यस घटनामा संलग्न ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुजित कुमार, गोलु कुमार, अर्का गोलु कुमार, बिक्की कुमार र मोहम्मद शाहिद रहेका छन्। उनीहरू सबै १८ वर्षका हुन्।
प्रारम्भिक अनुसन्धानबाट कक्षा ७ मा अध्ययनरत अपहरित किशोर र अपहरणमा संलग्न सुजित कुमार पहिले साथी रहेको खुलेको छ। विद्यालय छाडेपछि केही वर्ष सम्पर्कविहीन भएका सुजितले इन्स्टाग्राममार्फत पुनः सम्पर्क गरी भेट्न बोलाएका थिए। भेट्न जाँदा उनलाई चितवनकै एक होटलमा लगिएको र पछि भारतीय नम्बरको गाडीमा राखेर काठमाडौं ल्याइएको थियो।
चितवन प्रहरीको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यो अपरेसन सफल बनाएको हो। यस प्रकरणमा चितवनबाट पनि एक जना पक्राउ परेका छन्। अपहरित किशोरको परिवार सुनको कालिगढी (गहना बनाउने) व्यवसायमा संलग्न रहेको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment