यातायात व्यवसायी महासंघमा नयाँ नेतृत्वको पदस्थापन, विदेशी गाडीको अनियन्त्रण रोक्न माग
काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित केन्द्रीय कार्यकारिणी समितिले औपचारिक रूपमा कार्यभार सम्हालेको छ। राजधानीमा आयोजित विशेष समारोहमा नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको भौगोलिक अवस्था र सडक पूर्वाधारको सीमितताका बीच यातायात व्यवसायीहरूले अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिमा सेवा प्रवाह गरिरहेको उल्लेख गरे।
देशका प्रमुख तथा सहायक राजमार्गहरू अझै पनि जीर्ण अवस्थामा रहेको औँल्याउँदै उहाँले कठिन अवस्थामा पनि देशलाई गतिमान बनाउन व्यवसायीहरूले खेलेको भूमिकाको प्रशंसा गरे।
मुख्यमन्त्री बानियाँले नेपालमा रेल र जलमार्ग जस्ता वैकल्पिक यातायातका साधनहरू अत्यन्तै सीमित भएकाले सडक यातायात नै देशको मुख्य मेरुदण्ड रहेको बताए।
नेपालका मुख्य यातायातका साधन भनेकै ट्रक, टिपर, लहरी र सार्वजनिक बसहरू भएको उल्लेख गर्दै उनले व्यवसायीहरूको योगदान र समस्यालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने धारणा राखे।
यसै क्रममा उनले छिमेकी मुलुकका सवारी साधनहरूको अनियन्त्रित प्रवेशका कारण नेपाली यातायात व्यवसायीहरू ठूलो आर्थिक मारमा परेको स्वीकार गर्दै यसलाई नियन्त्रण गर्न आवश्यक नीतिगत सुधारको खाँचो रहेको औँल्याए।
साथै, व्यवसायीहरूलाई राहत दिन प्रदेश सरकारले विभिन्न जरिवाना तथा दर्ता सम्बन्धी प्रक्रियामा केही सहजीकरण र छुटका निर्णयहरू गरिसकेको जानकारी समेत उनले गराए।
कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष पुष्पप्रसाद (सरोज) सिटौलाले निवर्तमान अध्यक्ष विजय कुमार स्वाँरको नेतृत्वमा भएका महत्त्वपूर्ण कामहरूको उच्च प्रशंसा गरे।
अध्यक्ष सिटौलाले निवर्तमान कार्यसमितिका बाँकी रहेका अधुरा कार्यहरूलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्दै संगठनलाई अझ सुदृढ, व्यवस्थित र व्यवसायीमैत्री बनाउने लक्ष्यसहित आफ्नो टिम अघि बढ्ने बताए।
त्यसैगरी निवर्तमान अध्यक्ष विजय कुमार स्वाँरले आफ्नो कार्यकालमा भएका उपलब्धि र कमजोरीहरूको मूल्यांकन समयले गर्ने बताउँदै कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्ण सदस्य तथा व्यवसायीहरू प्रति आभार व्यक्त गरे। उनले संस्थाको हितका लागि र व्यवसायीहरूलाई आवश्यक परेका बेला आफू सधैँ संस्थासँगै जोडिएर सहयोगी भूमिकामा रहने प्रतिबद्धता समेत जनाए।







डिसी नेपाल







Facebook Comment