फिफा विश्वकप २०२६: मान्जाम्बी चम्किँदा स्विट्जरल्यान्डको सानदार जित, बोस्निया ४-१ ले पराजित

डिसी नेपाल
५ असार २०८३ ६:३६

काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा स्विट्जरल्यान्डले बोस्निया एन्ड हर्जगोभिनामाथि ४-१ को फराकिलो जित दर्ता गर्दै नकआउट चरणको यात्रा बलियो बनाएको छ।

अमेरिकाको लस एन्जलस स्टेडियममा बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा स्विट्जरल्यान्डलाई जिताउन वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका जोहान मान्जाम्बीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे।

यसका साथै रुबेन भारगास र अनुभवी कप्तान ग्रानिट जाकाले टोलीका लागि एक-एक गोलको योगदान दिए। खेलको अन्तिम समयमा बोस्नियाका तर्फबाट एर्मिन माहमिचले एक सान्त्वना गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त हुन सकेन ।

खेलको ७० मिनेटसम्म बोस्नियाले स्विट्जरल्यान्डलाई गोलरहित बराबरीमा रोकेर कडा चुनौती दिएको थियो । तर ७१ औँ मिनेटमा मैदान प्रवेश गरेका युवा मिडफिल्डर मान्जाम्बीले खेलको पासा पल्टाए । उनले मैदान छिरेको केही मिनेटमै उत्कृष्ट भलीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसलगत्तै खेलको ८० औँ मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहरेमोभिचले स्विट्जरल्यान्डका मुख्य स्ट्राइकर ब्रेल एम्बोलोलाई खराब फाउल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । यो रातो कार्ड खेलको निर्णायक मोड बन्न पुग्यो, जसका कारण बोस्निया १० खेलाडीमा समेटियो र उसको रक्षापङ्क्ति पूर्ण रूपमा ध्वस्त भयो।

१० खेलाडीमा सीमित बोस्नियाको कमजोरीको फाइदा उठाउँदै स्विट्जरल्यान्डले खेलको अन्तिम १० मिनेटमा गोलको वर्षा नै गर्‍यो । खेलको ८६ औँ मिनेटमा भारगासले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए भने ९० औँ मिनेटमा भारगासकै उत्कृष्ट पासलाई सदुपयोग गर्दै मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गरेर टोलीलाई ३-० को बलियो स्थितिमा पुर्‍याए ।

इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा बोस्नियाका माहमिचले एक गोल फर्काए पनि खेलको ९७ औँ मिनेटमा स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाकाले पेनाल्टीमार्फत गोल गर्दै टोलीको ४-१ को सानदार जित सुनिश्चित गरे ।

यसअघि आफ्नो पहिलो खेलमा कतारसँग १-१ को अप्रत्याशित बराबरीमा रोकिएको स्विट्जरल्यान्डले यो जितसँगै २ खेलबाट महत्वपूर्ण ४ अङ्क जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिन सफल भएको छ । पराजित बोस्निया भने २ खेलबाट मात्र १ अंकका साथ दबाबमा परेको छ ।

ऐतिहासिक रूपमा उत्तर अमेरिका (अमेरिका, क्यानडा र मेक्सिको) ले संयुक्त रूपमा आयोजना गरिरहेको यो ४८ टोली सहभागी विश्वकपमा समूह ‘बी’ को अर्को रोचक खेल कतार र क्यानडाबीच हुँदैछ भने स्विट्जरल्यान्डले समूह चरणको आफ्नो अन्तिम खेलमा कतारको सामना गर्ने तालिका छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *