विश्वकप फुटबल: कुरासाओको ऐतिहासिक पहिलो अंक, जर्मनी नकआउट चरणमा प्रवेश गर्दा इक्वेडरमाथि दबाब
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को रोमाञ्चक भिडन्तमा कुरासाओले बलियो प्रतिद्वन्द्वी इक्वेडरसँग गोलरहित बराबरी खेल्दै आफ्नो विश्वकप इतिहासकै पहिलो अंक जोड्न सफल भएको छ।
कान्सास सिटी स्टेडियममा भएको उक्त प्रतिस्पर्धामा कुरासाओका गोलरक्षक एलोय रुम टोलीका लागि नायक बने। खेलभरि इक्वेडरको निकै आक्रामक रणनीतिलाई विफल पार्दै उनले विश्वकप इतिहासकै कीर्तिमान बराबरी गर्ने गरी १५ वटा उत्कृष्ट बचाउ (सेभ) गरेर आफ्नो टोलीलाई ऐतिहासिक सफलता दिलाए।
३७ वर्षीय पाका गोलरक्षक रुमले सन् २०१४ को विश्वकपमा अमेरिकाका पूर्वगोलरक्षक टिम हावर्डले बेल्जियमविरुद्ध बनाएको एकै खेलमा सर्वाधिक १५ सेभ गर्ने कीर्तिमानसँग बराबरी गरेका हुन्। खेलको तेस्रो मिनेटमै इक्वेडरका कप्तान एनर भ्यालेन्सियाको प्रहार रोक्दै रुमले आफ्नो उत्कृष्ट प्रदर्शनको लय समातेका थिए।
खेल अवधिभर इक्वेडरले कुरासाओको पोस्टमा २७ पटक प्रहार गरे पनि गोलरक्षक रुमको दीवार तोड्न सकेन। कुरासाओले पनि जवाफी आक्रमणका केही सुनौलो अवसर सिर्जना गरेको थियो, जसमा दोस्रो हाफमा लिएन्ड्रो बाकुना र लिभियाना कोमेनेन्सियाका सुन्दर प्रयासहरू गोलमा परिणत हुन सकेनन्।
यो बराबरीसँगै पहिलो खेलमा आइभोरी कोस्टसँग १-० ले पराजित भएको इक्वेडरमाथि दबाब निकै बढेको छ। दुई खेल खेल्दा पनि गोलको खाता खोल्न नसकेको इक्वेडर केवल १ अंकमा सीमित छ।
यता, विश्वकपको समूह ‘एफ’ अन्तर्गत भएको अर्को खेलमा एसियाली शक्ति जापानले ट्युनिसियामाथि ४-० को प्रभावशाली र फराकिलो जित दर्ता गरेको छ। आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेलेको जापानले यस खेलमा उत्कृष्ट पुनरागमन गर्दै नकआउट चरणको यात्रा बलियो बनाएको छ भने लगातार दोस्रो हार ब्यहोरेको ट्युनिसिया प्रतियोगिताको समूह चरणबाटै बाहिरिने सङ्कटमा पुगेको छ।
अर्कोतर्फ, पूर्वविजेता जर्मनी भने लगातार दोस्रो जित निकाल्दै विश्वकप फुटबलको नकआउट चरणमा सुरक्षित रूपमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा आइभोरी कोस्टलाई २-१ गोल अन्तरले पराजित गर्दै जर्मनी अन्तिम ३२ मा पुग्न सफल भएको हो।
जर्मनीसँगै चालू विश्वकपका सह-आयोजक राष्ट्रहरू मेक्सिको र अमेरिकाले पनि यसअघि नै अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment