नेपालमा योगको व्यापक प्रचार भए पनि नागरिकले पूर्ण लाभ लिन सकेनन्: मुख्यसचिव अर्याल
काठमाडौं। नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले योगको महत्त्वबारे व्यापक प्रचार–प्रसार भए तापनि आम नागरिकले अझै यसबाट पूर्ण लाभ लिन नसकेको बताएका छन्।
१२औँ विश्व योग दिवसका अवसरमा दशरथ रङ्गशालामा आयोजित विशेष कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले सो कुरा बताएका हुन्। उनले नेपाल सरकारले राष्ट्रिय स्तरमा ध्यान दिवस, योग दिवस तथा अन्तर्राष्ट्रिय दिवसहरूलाई राष्ट्रव्यापी उत्सवका रूपमा मनाउने परम्परा विकास गरेको स्पष्ट पारे।
कार्यक्रममा बोल्दै उनले भने, ‘वर्तमान समयमा योगको धेरै प्रचार-प्रसार हुँदा पनि जनमानिसले यसबाट पूर्ण लाभ लिन सकिरहेका छैनन्। यसै परिप्रेक्ष्यमा सरकारले राष्ट्रिय स्तरमा ध्यान दिवस, योग दिवसका साथै अन्तर्राष्ट्रिय दिवसहरूलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने परम्परा स्थापित गरेको छ।’
मुख्यसचिव अर्यालले सरकारले विद्यालय तथा उच्च शिक्षाका पाठ्यक्रममा योग विज्ञानलाई समावेश गरी योग शिक्षाको दायरा विस्तार गरेको जानकारी समेत दिए। उनले विद्यालय र उच्च शिक्षाको पाठ्यक्रममा योग विज्ञान समावेश गरिनुका साथै प्रशासनिक निकाय र शिक्षालयहरूमा दैनिक योग अभ्यासको प्रचलनलाई क्रमशः सुरुवात गरिएको बताए।
यसका साथै, राष्ट्रिय स्तरमा ‘योग अभ्यास विकास परिषद्’ स्थापना गरी सबै प्रकारका यौगिक कार्यक्रमहरूलाई परीक्षण गर्दै प्रवर्द्धन र विस्तार गर्ने नेपाल सरकारको दीर्घकालीन योजना रहेको उनले उल्लेख गरे।
सरकारले सरकारी तथा प्रशासनिक निकायहरू र शैक्षिक संस्थाहरूमा दैनिक योग अभ्यासको संस्कृतिलाई क्रमशः प्रोत्साहन गर्ने कार्यलाई अघि बढाएको भन्दै उनले स्वस्थ जीवनशैलीका लागि योग अपरिहार्य रहेकोमा जोड दिए।







डिसी नेपाल







Facebook Comment