उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने साढे २५ सय चालक कारबाहीमा

डिसी नेपाल
१० असार २०८३ ७:१९

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ५५० जना सवारीचालक कारबाहीमा परेका छन्। नियमविपरीत सवारीसाधन चलाउने चालकहरूमाथिको यो कारबाहीबाट राज्यकोषमा कुल १७ लाख २४ हजार ५०३ रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा थालेको नियमित तथा बिशेष चेकिङका क्रममा यी चालकहरूलाई कारबाहीको दायरामा ल्याएको हो।

कारबाहीमा परेकामध्ये सबैभन्दा बढी अन्य विविध ट्राफिक नियम पालना नगर्ने एक हजार ७४६ जना रहेका छन्। यसैगरी तीव्र गतिमा सवारीसाधन हुइँक्याउने २०७ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १४२ जना र ट्राफिक सङ्केत बत्ती (रेड लाइट) उल्लंघन गर्ने १४० जना चालक कारबाहीमा परेका छन्।

पछिल्लो समय कडा पारिएको चेकिङका क्रममा निषेधित क्षेत्रमा हर्न बजाउने १०८ र मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०२ जना चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ।

प्रहरीका अनुसार लेन अनुशासन पालना नगर्ने ५६ जना, सवारीसाधनको यान्त्रिक अवस्था जाँच नगरी सडकमा निकाल्ने ३५ जना र निर्धारित मापदण्डभन्दा बढी धुवाँ फालेर वातावरण प्रदुषण गर्ने १४ जना चालक पनि कारबाहीको भागीदार बनेका छन्।

उपत्यकाको यातायात प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन तथा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चेकिङ र कारबाहीको यो अभियानलाई अझै तीव्र पार्ने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *